सीमामा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइन बसेपछि मात्र नेपाल आउन दिईने
भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ। धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन्।
भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन्। तर नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति भएको थियो। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले पनि तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेको छ।
‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं,’ बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले भने। सोही बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय समेत गरेको छ।