सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संक्रमितकै वडामा लकडाउनको उल्लंघन

२०७६ चैत्र १९, १०:११ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले तथ्याङक संकलनको नाममा संक्रमितकै वडामा लकडाउनको उल्लंघन गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ को वडा स्तरीय विपद व्यवस्थापन समितिको निर्णय अनुसार नै लकडाउनको उल्लंघन गरिएको हो। राहत वितरणका लागि विपन्न परिवारको तथ्याङक संकलन गर्ने क्रममा भीडभाड गरेर लकडाउन र कैलालीमा जारी निषेधाज्ञाको उल्लंघन गरिएको हो। 

तथ्याङक संकलन गर्दा २५ जनाको हुल नै बनाईएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कै ३४ बर्षिय पुरुषलाई गत शुक्रवार कोरोना संक्रमण भएको पुष्टि भएको थियो। तर लकडाउन र निषेधाज्ञाको उल्लंघन गरी उप–महानगरपालिकाले नै तथ्याङक संकलन गर्न थालेपछि अन्य स्थानीयले पनि लकडाउनको अवज्ञा गर्ने चिन्ता बढेको छ।

वडा स्तरीय विपद व्यवस्थापन समितिले तथ्याङक संकलनको जिम्मा सामुदायिक प्रहरी हसनपुरलाई जिम्मा दिईएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का अध्यक्ष हिरासिंह पातलीले लकडाउनका कारण विपन्न परिवारलाई समस्या भएकाले राहत वितरणका लागि तथ्याङ संकलन गर्न थालिएको बताए।

सामुदायिक प्रहरीलाई जिम्मा दिदा भीड भएको भन्दै उनले अव घर–घरमा गएर तथ्याङक संकलन गरिने बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुरमार बस्नेतले भीडभाड गरेर तथ्याङक संकलन गर्न नपाउने बताए।

 

कमेन्ट लोड गर्नुस