सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा डाक्टरलाई निशस्त्र युद्धमा पठाउने प्रयास

२०७६ चैत्र १६, १२:१५ नवराज पनेरु

धनगढी : कोरोना भाइरसको महामारीसँग सबैभन्दा बढी संघर्ष गरिरहेको इटालीमा उपचारमा संलग्न ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भईसकेको छ। झण्डै सात हजार बढि स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएको छ। इटालीमा रहेको चिकित्सक महासंघलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) को पर्याप्त व्यवस्था गर्न हामीले पटकपटक आह्वान गरेका थियौं। समयमा उपलब्ध हुन नसक्दा अहिले यो अवस्था देखिएको छ। हाम्रा डाक्टरहरूलाई निशस्त्र युद्धमा पठाइएको छ।’

अहिले त्यस्तै प्रयास सुदूरपश्चिममा पनि भईरहेको छ। निशस्त्र योद्धाले युद्ध जित्न सक्दैन भन्ने कुराको वेवास्ता गरिएको छ। धनगढीका ३४ बर्षिय एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसंगै उनको स्वास्थ्यमाथि धेरैले चाँसो दिएका छन्। तर स्वास्थ्यकर्मीलाई सुरक्षा कवचको प्रवन्ध छ वा छैन् ? भन्ने विषय गौण छ। 

सरकारले उचित व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीहरु नै असुरक्षित महशुस गर्न थालेका छन्। बिरामीको धेरै भीडभाड रहने सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले कोरोना संक्रमणबाट जोगीन आवश्यक पीपीई समेत पाएका छैनन्।

सेती प्रादेशिक अस्पतालका ईमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशी भन्छन्, ‘आवश्यक स्रोत साधन नहुँदा हामीले पर्याप्त व्यक्तिको कोरोना परिक्षणका लागि थ्रोट स्वाव समेत संकलन गर्न सकेका छैनौ। स्वाव संकलनका लागि आवश्यक सामाग्रीको अभाव छ। धेरै शंका लागे मात्रै हामीले स्वाव संकलन गरिरहेका छौ।’

‘थ्रोट स्वाव तान्नतका लागि सुरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) आवश्यक हुन्छ,’ डाक्टर जोशीले दिनेश खवरलाई भने, ‘पीपीईको व्यवस्थापन भएपनि स्वाव तान्नका लागि भाईरल ट्रासफर मिडिया (भिटिएम) आवश्यक हुन्छ। हामीसंग किट, पीपीई र भिटिएम सबैको अभाव छ।’

उनका अनुसार आवश्यक सामाग्रीको अभाव हुँदा अहिले संक्रमितकै आफन्तको समेत स्वाव संकलन गर्न सकिएको छैन्। धनगढी रंगशालाको क्वारेन्टाईनबाट संक्रमितकी श्रीमतीले टेलिफोनमा दिनेश खवरलाई भनिन्, ‘श्रीमानमा कोरोना भाईरस देखिएपछि कम्तिमा परिवारका सदस्यको त परिक्षण गर्नुपर्ने हो। तर अहिले सम्म कुनै परिक्षण गरिएको छैन। क्वारेन्टाईनमा बस्न मात्रै भनिएको छ। यस्ले झनै त्रास हुन्छ।’ उनले परिवारका सबै सदस्यको नभए पनि  नजिक भएका व्यक्तिको कोरोना परिक्षण गरिदिन माग गरिन्। 

यता सुदूरपश्चिम प्रदेश सरकारले पनि स्वाव संकलन र स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामाग्रीको अभाव रहेको स्विकार गरेको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संकास्पद सबैको थ्रोट स्वाव संकलनका लागि उपकरण अभाव भएकाले धेरै शंका गरिएका विरामीको मात्रै स्वाव संकलन गरिएको बताए।

उनले भने, ‘संक्रमितका परिवारका सदस्यको स्वाव संकलनका लागि हामीले प्रदेश र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासंग पनि छलफल गरेका थियौँ। तर कोरोनाको कुनै लक्ष्यण नै नदेखिएको भए परिक्षण नगर्दा नि हुन्छ भनियो, परिवारका सदस्यमा त्यस्तो लक्ष्यण नदेखिएपछि परिक्षण नगरिएको हो।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस