कैलालीका विकासे अड्डाहरु विकास बजेट खर्च गर्न असफल (अडियो रिर्पोट)
कर्मचारीहरुको काम गर्ने पुरानै शैली फेरिएन
जेठमा १५ मै बजेट ल्याएर समयमै अख्तियारी पाउँदा समेत कैलालीका विकासे अड्डाहरु विकास बजेट खर्च गर्न असफल देखिएका छन्। आर्थिक बर्ष २०७४÷०७५ का दुई साता मात्रै बाँकी छन तर विकासे अड्डाहरुले भने अझै सम्म पनि ३६ प्रतिशत विकास बजेट खर्च गर्न बाँकै रहेको छ। ठुला विकासे आयोजनाको प्रगति निराशाजनक रहेकोमा विकासे अड्डाहरुले पनि बजेटको सदुपयोग गर्न नसकेका हुन्। कर्मचारीहरुको काम गर्ने पुरानै शैलीका कारण यसपाली पनि कैलालीका लागी विनीयोजीत बजेटको ठुलो हिसां फिर्ता जाने देखिएको हो।
बजेट फ्रिज जाने समस्यालाई निराकरण गर्न सरकारले डेढ महिना अगाडी अर्थात जेठ १५ मै बजेट ल्याउने नियम बनायो तर कर्मचारीको कार्यशैली भने अझै उस्तै छ। विकासे अड्डाहरु मध्ये सबैभन्दा बढि डेढ अर्व विकास बजेट कार्यान्वयनको जिम्मा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले पाएको थियो। आर्थिक बर्षका १५ दिन बाँकी छन् तर उक्त कार्यालयले अझै सम्म पनि ४५ करोड विकास बजेट खर्च गर्न बाँकी राखेको छ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीका प्रमुख रविन्द्र बोहराले असारमा तिव्र गतिमा काम हुने वताए। ठुला विकास निर्माणका आयोजना सञ्चालन गरिरहेका निकाय बाहेक जिल्लामा रहेका अन्य विकासे अड्डाहरुमा सबैभन्दा कम जिल्ला बन कार्यालयले ४७ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, सिँचाई विकास डिभिजन, भुमिगत जलश्रोत कार्यालय लगायतका विकासे अड्डाहरुको प्रगति सन्तोषजनक नरहेको कोष तथा लेखा नियन्त्रक मदनराज पाण्डेयले वताए।
आर्थिक बर्षका १० महिना विकास बजेट खर्चको प्रक्रिया पनि सुरु नगर्ने र अन्तिम दुई महिनामा बर्षभरीको बजेट खर्च गर्न हतार गर्ने प्रवृती अहिले पनि छ। तर विकासे अड्डाहरुले भने बजेट खर्च नहुनुको कारणमा थुप्रै बाहना तेर्साउने गरेका छन्। जिल्ला प्राविधिक कार्यालय कैलालीका प्रमुख मनिष अर्याललेविभिन्न समस्याले काम गर्न कठिनाई भईरहेको वताए।
केन्द्रबाट साविकको सुदुरपश्चिम अर्थात अहिलेको प्रदेश नम्वर ७ का लागि विकास बजेट कम विनियोजन भयो भन्दै आन्दोलन नै गर्ने तर आएको बजेट समेत गर्च गर्न नसक्ने परिपाटी पुरानो हो। विकासे अड्डाहरुले आर्थिक बर्षको २ महिनामा गरेको अन्धाधुन्द खर्चले केहि मात्रामा विकास बजेटको प्रतिशत बढाउने गरेको छ। तर असारमा लागेको विकासको चटारोले दिगो विकास हुदैन भन्ने सबैलाई थाह भईसकेको छ। यता सिचाई विकास डिभिजन कार्यालय कैलालीका प्रमुख अमरबहादुर चन्द ठकुरीले भने भुक्रानी गर्न वाँकी रहेकोले प्रगति राम्रो हुने वताए।