सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनोबल कमजोर नपारौँ

२०७६ चैत्र १५, ०५:४४

तीर्थराज जोशी 
आचार्य रजनिशको प्रवचन सुन्दै गर्दा एउटा मनोविज्ञान सम्बन्धित कहानी सुनेको थिएँ। उनी आफैले भनेका छन् यो कुनै इतिहासको वास्तविक घटना त होइन तर यो कहानी निकै मनोवैज्ञानिक छ। रजनिशले उक्त घटनालाई यसरी बताएका छन् सुफीमा एक चर्चित कहानी छ। जसमा जुन्नैद नामका एक फकिर प्रसिद फकिर मन्जुरका गुरु थिए। 

गाउँभन्दा टाढा बगदाद बाहिर बस्थे उनी एक झोपडीमा । एक दिन उनले कालो छाया हिँड्दै गरेको देखे र रोकेर भने,“ तिमी को हौ?” कालो छायाबाट जबाफ आयो, “म मृत्यु हुँ, माफ गर्नुहोला मैले बगदादमा पाँचसय व्यक्ति मार्नु छ।” यति भनेर मृत्यु सरासर आफ्नो बाटो लाग्यो। 

पन्ध्र दिनपछिको घटना हो पाँचहजार व्यक्तिको मृत्यु भयो। त्यहि बाटो फर्कदै गरेको मृत्युलाई फकिरले आक्रोसित हुँदै भने, “बेइमान, पाँचसय मान्छे मर्छन् भनेको ठाउँमा पाँचहजार व्यक्ति किन मारिस्?” 

मृत्युको जवाफ थियो माफ गर्नुहोस्, मैले पाँच सय नै मारेको हुँ, बाँकी साढे चारहजार आफै मरेका हुन्। त्यसमा मेरो दोष छैन। उनीहरु अरु मरेको देखेर मरेका हुन्। कहानीको अन्तमा ओशोले भनेका छन् “जब महामारी फैलिन्छ, धेरैजसो महामारी देखेरै बिरामी हुन्छन्।” व्यक्ति मनोविज्ञानमा घटना र परिस्थितिले पार्ने प्रभावको दृष्टान्त हो यो। 

आज विश्व समुदायलाई निकै आतङकित पार्दै कोरोनाले भयभित बनाइदिएको छ। यसको चपेटामा परेर धेरैले ज्यान गुमाउनु परेका घटनाहरु दिनहुँ सामाजिक सञ्जालमा प्रसारित भइरहेका छन्। विश्व भूगोलको सबैतिर फैलिएको यो महामारी मानव समुदायलाई त्रसित र भयभित बनाउन थालेको देखिन्छ। 

कोरोना कोभिड १९ नामक यो महामारीले विश्वलाई चुनौति दिएको छ। इटली, स्पेन, अमेरिका यी देशहरुमा त यसले विकराल रुप नै प्रदर्शन गरेको छ। यही विषयले सर्वत्र चर्चा, चासो र चिन्ता सिर्जना गरेको छ। यसको निदानका लागि अनुसन्धाताहरु लगिपरेकै छन्।

यो औषधोपचार पत्ता नलागेको र समस्यामूलक रहेको हुँदा अनुसन्धेय विषय त पक्कै हो तर यसको सङक्रमण नै मृत्यु हो भन्ने कुरा बढी मात्रामा अफवाहका रुपमा रहेको छ। जसका कारण धेरैजसो बिरामीहरु मानसिक रुपमा कमजोर र ग्रसित हुँदै गएका देखिन्छन्। 

यस्तो अवस्थामा बिरामीलाई आत्मबल र प्रोत्साहनको खाँचो रहन्छ। मनोवल धेरै प्रकारका रोगहरुको अचुक ओषधी हो जसले बिरामीको शारीरिक र मानसिक स्वास्थ्यमा निकै ठूलो प्रभाव पार्दछ। आज हामीले विशेष गरी दुई कुरामा ध्यान पु¥याउनु जरुरी छ।

पहिलो कुरा कोरोना सङ्क्रमण हुन नदिन आवश्यक उपायहरु अवलम्बन गर्ने। यसमा राज्य र नागरिक समाजको आ आफ्नो भूमिका रहन्छ। राज्यले भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न समाधानमूलक उपाय अघि बढाउने र कुनै किसिमको बेवास्ता नगर्ने। 

सरकारलाई सघाउनका लागि जनताले आफूले निर्वाह गर्नु पर्ने कर्तव्य पालन गर्ने। दोस्रो कुरा सङ्क्रमित अवस्थाका बिरामीले मनोबल कमजोर नगर्ने र अरुले बिरामीको मनोबल बढाउन आवश्यक भूमिका खेल्ने। 
महामारी समयको एक पल बोकेर आएको हुन्छ र आफ्नो रुप प्रकट गरेर जान्छ।

कोरोना धेरै बेर नरहला र यसको असर घट्दै जाने निश्चित छ। तसर्थ हामी सचेत बनौँ। यसलाई भयावह रुपमा फैलाउन नकारात्मक सन्देश प्रसारण गर्ने र मनोबल गिराउने गरी गलत क्रियाकलाप नअपनाऔँ। सामान्य रुघाखोकी र टाउको दुखाइमा कोरोनाकै शङ्का गरी कमजोर भइदिने गरेका छन् कतिपय यतिबेला। जुन सधैँ जसो देखिने समस्याहरु हुन्। 

तर त्रासका कारण शङ्काले विकराल रुप लिन थालेको देखिन्छ। सावधान अवश्य पनि हुनु पर्छ र कुनै किसिमको लापरबाही नगरी स्वास्थ्यको ख्याल गर्नु जरुरी छ। तर शङ्का, चिन्ता र तनावले केवल हानि पु¥याउने हुँदा यी र यस्ता कुराहरुबाट टाढा रहनु पर्दछ। 
    

 

कमेन्ट लोड गर्नुस