कैलालीमा किराना, तरकारी र मासु पसल निर्वाध रुपमा सञ्चालन हुने
धनगढी: कोरोनाको जोखिम रोक्नका लागि गत मंगलवारदेखि नेपाल सरकारले पुरै देश लकडाउन गरेको छ। संघीय सरकारले लकडाउनको अवधीमा अत्यावश्यक सेवा बाहेक सबै ठप्प पारिएको जनाएको छ।
कैलालीका बजारहरु पनि विगत चार दिनदेखि बन्द छन्। जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको बैठकले भने दैनिक उपभोग्य सामाग्री प्राप्त हुने पसलहरु खुल्ला गर्न दिने सहमती गरेको छ।
वाणिज्य कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुनमगरले भने, ‘अत्यावश्यक समानहरु जस्तै दैनिक उपभोग्य वस्तु विक्रि गर्ने पसलहरु खुल्ला रहन्छन्। किराना पसल, तरकारी, मासु, औषधी, ग्यास लगायतका अत्यावश्यक समानहरु उपलब्ध गराउने पसलहरु निर्वाध रुपमा संञ्चालन गर्ने सहमती भएको छ।’
आजको बैठकमा जिल्लाको आपुर्ती व्यवस्थापन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीको संयोजकत्वमा १२ सदस्यीय समिति समेत गठन भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।