बलात्कृत महिलालाई अनेम संघ कैलालीकी अध्यक्ष सोडारीको ज्यान मार्ने धम्की
अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष गीता सोडारीमाथि बलात्कारमा परेकी युवतीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। बर्खास्तमा परेका सामाजिक विकास मन्त्री दीर्घ सोडारीकी पत्नी समेत रहेकी गीताले गौरीगंगा नगरपालिकामा भएको जबरजस्तीकरणी मुद्दामा पीडित र अधिकारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो।
बलात्कारमा परेकी भनिएकी महिलाले बुधबार जिल्ला अदालत अगाडी आफूमाथि करणी गर्ने युवक विरुद्ध उजुरी लेखाईरहेका बेला ज्यान मार्ने धम्की दिएको आरोप छ। उनले अधिकारकर्मी यमकुमारी ढकालसँग भएको पीडित महिलासँगको मोवाईल खोसेर लग्दै ‘खबरदार त्यो केटा विरुद्ध उजुरी दर्ता गर्न पाउँदैनौँ, यदि केस गरिस भने तेरो ज्यान लिन्छु, भन्ने धम्की दियो।’पीडित महिलाले भनिन्।
अधिकारकर्मी ढकालले पनि सोडारीले आफूमाथि ज्यान मार्ने धम्की दिएको बताएकी छन्। ‘एउटी महिला जबरजस्तीकरणीमा परिन्, श्रीमानले पनि स्वीकार्दैन् भनेको अवस्था छ, न्यायका लागि लड्दै सम्बन्धीत निकाय धाउँदा आक्रमण प्रयास भयो।’ उनले भनिन्,‘२१ गते जबरजस्तीकरणीमा परेकी ती विवाहित युवतीलाई गीताले नै ओरेक नेपालमा ल्याएर उजुरी हाल्न नदिएको रहेछ, यता पनि छोड्ने उता पनि छोड्ने म बर्बादमा परे भनी रोएर आउँदा सहयोग गर्न लगे।’ ढकाल बताउँछिन्।
‘गीता बहिनी मलाई आक्रमण गर्ने शैलीमा आएर अदालतको गेट नजिकै जाहेरी लेखाउँदै थियौँ, चुनाव जित्ने हामी लिडर बनेर आउने त भन्दै धम्क्याईन्, मुद्दा हाल्न पाईदैन् भन्दै धम्क्याईन्।’उनका अनुसार तत्काल खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेपछि उनी त्यहाँबाट निस्केकी थिईन्।
सोडारीले पीडित महिलासँग भएको मोवाईल खोसेर लगेको उनले बताएकी छन्। विवाहित ती महिलाका श्रीमान भारतमा रहेका बेला छिमेकी युवकले गत २१ गते जबरजस्तीकरणी गरेको आरोप छ। करणी गर्ने भनिएका २५ वर्षीय जोशी भने अहिले फरार छन्। उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउने तयारी भईरहेको बताईएको छ।
यता सोडारीले भने कुनै धम्की नदिएको बताईन्। उनले भनिन्, ‘मुद्धामामिलामा गएर घरवार विगार्नु भन्दा एक अर्कामाथि विश्वास गरेर अगाडी बढ्नु ठिक होला भनेर एक पटक सम्झाएकी मात्रै हुँ। मुद्धा नै नहाल्नु भनेकी छैन्।’