सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सेवा निवृत्त कर्मचारीलाई नै करारमा भर्ना

२०७६ चैत्र ५, ०४:१२ रोशन भट्ट

धनगढी : सुदूरपश्चिममा सेवा निवृत्त कर्मचारीलाई नै करारमा भर्ना गरिएको छ। प्रदेश सरकार मातहतमा रहेका विभिन्न मन्त्रालय र कार्यालयहरुमा सेवा निवृत्त कर्मचारीलाई करारमा भर्ना गरिएको हो। राजनितिक आडमा भर्ना भएका ति कर्मचारीले दोहोरो सुविधा लिईरहेका छन् भने युवाहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ। विशेष गरि सवारी चालकसंगै तल्लो श्रेणीका कर्मचारीहरु करारमा भर्ना भएका छन्। विगतमा नेपाल प्रहरी, सशस्त्र प्ररही र नेपाली सेनाबाट सेवा अवधी सकेर पेन्सन खाईरहेकाहरु विभिन्न कार्यालयमा करारमा भर्ना गरिएका हुन्।

प्रदेश सभा सदस्य भरत खड्काले भने, ‘प्रदेश सरकार जनाताको हितमा काम गर्न असफल भएको छ। सेवा निवृत्त कर्मचारीनै करारमा भर्ना हुन थालेपछि युवाहरु अवसर पाउनबाट वञ्चित भईरहेका छन्।’ उनले पार्टीगत आस्थाको आधारमा उनीहरुलाई भर्ना गरिएको बताए। सुदूरपश्चिम सरकारका मन्त्रालयहरुमा समेत पेन्सनधारी कर्मचारी नै करारमा भर्ना हुन थालेपछि युवाहरु भने स्वदेशमा रोजगारीको वातावरण नपाएको भन्दै विदेशिने क्रम बढेको छ। प्रदेशमा कार्मचारी व्यवस्थापनको जिम्मा पाएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले समेत सेवा निवृत्त कर्मचारी भर्ना गरेको छ।

यस्तै कृषि तालिम केन्द्र सुन्दरपुर, डिभिजन बन कार्यालय कञ्चनपुर, सुदूरपश्चिम बाख्रा फार्म बुढितोला लगायतका अन्य कार्यालयहरुमा पनि सेवा निवृत्त भएका कर्मचारीहरु नै फेरी भर्ना भएका छन्। कृषि तालिम केन्द्र सुन्दरपुरका प्रमुख जनकराज जोशीले पनि सेवो निवृत्त कर्मचारीलाई करारमा राखिएको स्विकार गरे। सुदूरपश्चिम प्रदेश सरकार यहाँको बेरोजगारीलाई अन्त्य गर्ने दावी गर्दै आएको छ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समेत आफु मुख्यमन्त्रीमा नियुक्त भएकै वेला रोजगारीका लागि भारत जानु पर्ने बाध्यताको अन्त्य गर्ने घोषण गरेका थिए। तर अहिले सेवा निवृत्त कर्मचारीनै मुख्यमन्त्री कार्यालयमा कार्यरत छन्। तर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशी भने करारमा कर्मचारी राख्ने जिम्मा स्वयम कार्यालयहरुको नै हुने गरेका कारण आफुहरुलाई धेरै जानकारी नभएको बताए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस