सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जनप्रतिनिधिका ३२ महिना : पूरा भएन घरमै पुगेर बृद्धभत्ता वितरण गर्ने घोषण

२०७६ फाल्गुन २८, ०७:०६ रोशन भट्ट

धनगढी : धनगढी उप–महानगरपालिकाको वडा नम्बर १३ श्रीलकांका ८६ वर्षीय छोटेलाल चौधरी बुधवार बिहान १० बजे नै बृद्धभत्ता बुझ्न कैलाली पुल नजिक रहेकै कृषि विकास बैंकमा पुगिसकेका थिए। उनी दिउसोको एक बजे सम्म भत्ताको पर्खाइमा थिए। ‘भत्ता बुझ्न टाढादेखि धनगढी पुग्नुपर्ने बाध्यता एकातिर छ। अर्को तर्फ बैंकमा समेत लाई बस्नु पर्ने समस्या छ,’ उनले भने, ‘हामी जस्ता बृद्धहरुको लागि भत्ता वितरण गर्ने वातावरण सहज बनाई दिए हुने थियो।’

उनीसंगै भत्ता बुझ्न कृषि विकास बैंक पुगेकाहरु लाईनमा थिए। १९ वटा वडा रहेको धनगढी उप–महानगरपालकामा भत्ता बुझ्नको लागि कैलाली पुल नजिकै रहेको कृषि विकास बैंकको शाखामा पुग्नु पर्ने बाध्यता छ। भत्ता पाउनेहरुले स्वयम बैंकमा पुग्नु पर्ने बाध्यताका कारण झन समस्या छ। परिवार भएकाहरु घरका सदस्यहरुसंगै आउने गरेको भएपनि सहारा विहिनहरुलाई भत्ता बुझ्न झनै मुस्किल छ।

कृषि विकास बैंकमा लाईन भेटिएकी धनगढी वोराडाडीकी भागरथी पाण्डयले भनिन्, ‘भन्न त चुनावाका वेला नेताहरुले घर–घरमै पुगेर भत्ता वितरण गर्छौँ भनेका थिए। तर अहिले बैंकमा समेत सास्ती खेप्नु परेको छ।’ नेपाल सरकारले उपलब्ध गराउने बृद्धभत्ता बुझ्न पनि सास्ती खेप्नुपर्ने अवस्था हुँदा बृद्धबृद्धालाई निकै समस्या हुने गरेको धनगढी उप–महानगरपालिकाको वडा नम्बर ११ वेलादेवीपुरका स्थानीय बलबहादुर तिरुवाले गुनासो गरे।

‘सरोकारवाला निकाय भने यसमा उदासिन छन्,’ उनले भने, ‘घर–घरमै पुगेर भत्ता वितरण गर्ने आश्वासन बाडेका स्थानीय तहका जनप्रतिनिधिहरु अहिले उक्त विषय उठान गर्न पनि हिचकिचाउने गरेका छन्।’ प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उप–महानगरपालिकासंगै १३ वटै स्थानीय तहका जनप्रतिनिधिले बृद्धभत्तालाई प्रमुख चुनावी एजेण्डा बनाएका थिए।

तर अहिले निर्वाचित भएको ३२ महिना पूरा भईसक्दा समेत घरमै भत्ता पुगाउने बाचा पूरा हुन त परै जावस बैंकमा समेत भत्ता वितरणलाई सहज बनाउन समेत वेवास्ता गरिएको छ। तर धनगढीमा आउदो आर्थिक वर्षदेखि वडाबाटै भत्ता वितरण गरिने दावी उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीको छ। ‘अहिले हामीसंग पनि सास्ती भईरहेको गुनासो आउने गरेको छ। तर अर्को वर्षदेखि यो सबै समस्याको समाधान हुन्छ।’ उनले दिनेश खवरलाई भने।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस