सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया सडकमा ७० प्रतिशत भौतिक प्रगती, छ किलोमिटर कालोपत्र

२०७६ फाल्गुन २८, ०२:०६

धनगढी : कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण अवधि एक वर्ष थप गरिएको छ। निर्माण सम्पन्न सम्झौता अवधि सकिएको नौ महिनापछि सडकको म्याद थप गरिएको हो। एक नम्वर प्याकेजको म्याद विसं २०७७ मङ्सिर ६ गतेसम्म र दोस्रो तथा तेस्रो प्याकेजको मङ्सिर १५ सम्मका लागि म्याद थप गरिएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका योजना प्रमुख होमबहादुर एसीले बताए।

निर्माण कम्पनीले विसं २०७४ जेठमा २४ महिनाभित्र निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता गरेकामा सम्झौता अनुसार गत जेठमा सम्पन्न हुनुपर्ने काम आधा मात्रै सकिएपछि म्याद थप गरिएको जनाइएको छ। चालू आवको माघ मसान्तसम्म छ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको योजना कार्यालयले जनाएको छ।

सङ्घीय सरकारको बजेटमा निर्माणाधीन कूल साढे १४ किलोमिटर लामो यो सडकखण्डको १० किमी छ लेन र साढे चार किमी चार लेनको हुनेछ। एक अर्ब ६८ करोड लागत रहेको उक्त सडक निर्माणका लागि तीन खण्डमा छुट्याई ठेक्का दिइएको छ।

भन्सार–रोडस्थित मोहनापुलबाट अत्तरियाचोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडा सडक निर्माण गरिनेछ। दुवैतिर तीन–तीन मिटर फुटपाथ रहने छ। लेन सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने छ। विसं २०७४ जेठमा मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण शुरू भएको थियो। यो अवधिसम्म ७० प्रतिशत मात्र काम भएको सडक योजना कार्यालयले बताएको छ। रासस
 

कमेन्ट लोड गर्नुस