कैलालीमा श्रीमान कान्छी लिएर हिडेपछि श्रीमती र छोराको विचल्ली
२०६९ सालको कुरा हो, कैलालीको लम्कीकी लक्ष्मी तिमिल्सीना स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै थिईन्। उनको छिमेकमै बस्थे तुलाराम भण्डारी। स्थानीय नमूना माध्यमिक विद्यालयमा ९ कक्षामै पढ्थे भण्डारी। लक्ष्मी र भण्डारीबिच त्यति बेला देखि नै प्रेम बस्यो। वार्षिक परिक्षा दिएर उनीहरु बिच विवाह गर्ने सहमती भयो।
सोही अनुसार २०६९ मा दुवै जनाले प्रेम विवाह गरे। त्यो बेला लक्ष्मीको उमेर १७ वर्ष चल्दै थियो। प्रेमलाई विवाहमा परिणत गरेपछि लक्ष्मी र तुलाराम खुसी थिए। विहेपछि नै हो तुलाराम र लक्ष्मीले ऋृण काढेर लम्कीमा सपनाको घर बनाएको पनि। विभिन्न समुहबाट ३ प्रतिशतमा ब्याजमा झण्डै सात लाख ऋण काढेका थिए उनीहरुले।
विहे गरेको केही वर्ष नबित्दै पहिलो सन्तानका रुपमा छोरा जन्मीयो। छोराले उनीहरुको परिवारमा थप खुसी ल्यायो। लम्कीमा छोराको पालनपोषण र घर निर्माणका लागि लिएको ऋृण तिर्न नसकेपछि भएपछि लक्ष्मी र तुलाराम डेढ वर्ष अघि भारत पसे। भारतको हरियाणामा मजदुरी गरी दैनिकी चलाईरहेका थिए उनीहरु।
तर गत भदौँको कुरा हो, तुलारामले लक्ष्मीलाई भारतको कमाईले छोराको पालनपोण, पढाई खर्च र समूहको ऋृण तिर्न नसकिने भन्दै वैदेशिक रोजगारीमा खाडी मुलक जान प्रस्ताव गरे। लक्ष्मी पनि सहमती जनाउँदै नेपाल फर्किएर भीसा लगाउन भनिन्। सोही अनुसार तुलाराम लम्की फर्किए। लम्की फर्किएपछि हरियाणामा रहेकी लक्ष्मीसँग उनी सम्पर्कमा रहेनन्।
हरियाणाको एक घरमा मजदुरी गर्दै आएकी लक्ष्मी तीन वर्षको छोरा बोकेर तुलारामलाई खोज्दै माघमा लम्की फर्किईन्। तुलाराम भने लम्कीमा भेटिएनन्। बुझ्दै जादा तुलाराम अर्कैलाई लिएर काठमाडौँ पसेको थाहा पाउँछीन् उनी। तुलारामले अर्को विवाह गर्छन् भन्ने कल्पना समेत नगरेकी लक्ष्मी कान्छी श्रीमती लिएर हिडेको थाहा पाएपछि आकाशबाट खसे जस्तै भईन्। जुन कुराको लक्ष्मीलाई अहिले पनि विश्वास लागिरहेको छैन्।
तुलाराम वैदेशिक रोजगारीमा गएपछि घरको ऋृण तिरी, छोराको पालनपोषणसँगै भविष्यका सपना पूरा हुने आशा थियो लक्ष्मीको। तर श्रीमान कान्छी लिएर भागेपछि ती सबै सपना चकनाचुर भएका छन् लक्ष्मीका। अहिले श्रीमान कहाँ छन् भन्ने कुरा थाहा छैन् तर सर्लाहीकी मेरिका बस्नेत नामकी केटीलाई लिएको कुरा सुनेकी छन्।
‘सर्लाहीको शंकरपुर गाउँपालिकाकी मेरिकासँग विवाह गरेको सुनेको छु।’ लक्ष्मीले भनिन्। ‘श्रीमान कान्छी लिएर भाग्यो, सासु पनि घरमा ताला लगाएर खै कता जानु भयो गएकी छन्। ’अहिले तीन वर्षको छोरा लिएर माईती घरमै छन्। उनलाई ऋृण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ। तुलाराम विरुद्ध ईलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएपनि सुनवाई नभएको उनको गुनासो छ।