कोरोना संवेदनशीलताबारे मुख्यमन्त्री भट्ट र नगरप्रमुखबीच छलफल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडबीच विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड) १९० को संवेदनशीलताका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज छलफल भएको छ।
कोरोना भाइरस भित्रिन नदिन अपनाउनुपर्ने सतर्कताका विषयमा उनिहरुबीच छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए। प्रदेशका अन्तरराष्ट्रिय नाकादेखि एक प्रदेश र अर्को प्रदेशका नाकामा सहायता कक्ष ‘हेल्थ डेस्क’ राख्ने विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव वलीको भनाइ छ।
उपमहानगरपालिकाले केही दिन पहिले नै कैलालीको त्रिनगर भन्सार नाकामा हेल्थ डेस्क राखेर भारतबाट आउने व्यक्तिलाई जाँच गर्ने र परामर्श दिने काम गरिरहेकाले त्यसमा प्रदेश सरकार पनि समन्वय गरेर जाने विषयमा छलफल भएको बताइएको छ।
“त्रिनगर सीमा नाकामा हेल्थ डेस्क राखेर काम गरिराखेको र जाँचका क्रममा बिरामी भेटिएमा स्वास्थ्य संस्थासम्म पु¥याउने एम्बुलेन्स नभएको कुरा मुख्यमन्त्रीलाई जानकारी गराएको छु”, उपमहानगरपालिकाका प्रमुख वडले भने, “उनले प्रदेश सरकारबाट व्यवस्था गर्छु भनेका छन्।”
सीमामा दैनिक सात सयदेखि एक हजारसम्म भारतबाट नेपाल भित्रिने मानिसको जाँच भइरहेको बताइएको छ। भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको सङ्क्रमण देखापरेको खबर बाहिर आएपछि नेपाल–भारत सीमावर्ती शहर धनगढीमा सतर्कता अपनाइएको छ। रासस