धनगढीको अमित मेडिसिनलाई दुई आर्थिक वर्षको कर चुक्ता गर्न आग्रह
धनगढी: आन्तरिक राजश्व कार्यालय कैलालीले धनगढीको अमित मेडिसिनलाई दुई आर्थिक वर्षको कर चुक्ता गर्न आग्रह गर्दै पत्र पठाएको छ।
अमित मेडिसनले आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्म पाएका हरेक औषधी आपुर्तीका ठेक्कामा नक्कली करचुक्ता प्रमाणपत्र पेश गरेको देखिएकोमा दुई आर्थिक बर्षको कर निर्धारण गर्दै चुक्ता गर्न आग्रह गरिएको हो।
आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ को कारोबारको हिसाव हेर्दा ३४ लाख ९० हजार कर निर्धारण भएको बताउँदै आन्तरिक राजश्व कार्यालय कैलालीका प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले उक्त कर चुक्ता गर्न मेडिसिनलाई पत्र पठाईसकेको बताए। उनले भने, ‘निर्धारण गरिएको कर समेत बुझाउन आनाकानी गरे खाता रोक्का र सम्पत्ति लिलाम सम्मको व्यवस्था रहेको छ। गत आर्थिक वर्षको कारोवारमाथि छानविन गर्न बाँकी रहेको छ।’
उनले पुस मसान्तसम्म आय विवरण बुझाउन पर्ने प्रावधान रहेको तर अमित मेडिसिन डिस्ट्रिब्युटर्सले अहिलेसम्म आय विवरण नै नबुझाउँदा गत आर्थिक वर्षको कर निर्धारण गर्न नसकिएको बताए। गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षमा औषधी खरीदको टेण्डर आह्वान गरेपछि अमित मेडिसिनले बुझाएको कर चुक्ताको प्रमाणपत्र किर्ते रहेको पुष्टि भईसकेको छ।
यता अमितका सञ्चालक दुस्यन्त बस्नेत नै सञ्चालक रहेको डिवी मेडिसिन र ड्रग सेन्टरले पनि कर चुक्ता प्रमाणपत्र किर्ते गरेको देखिएपनि राजश्व कार्यालयले छानविनको दायरामा ल्याएको छैन्।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयमा पनि डेढ करोड बढीको औषधी आपुर्ती ठेक्कामा नक्कली प्रमाणपत्र पेश गरेको देखिएको छ। तर अहिलेसम्म गेटा आँखा अस्पतालमा पेश गरिएको प्रमाणपत्र किर्ते भएको भन्दै त्यस्मा अनुसन्धान भए पनि बाँकी कार्यालयबाट भएको टेण्डरमा भने कुनै छानविन नै नभएको हो।
बस्नेत सञ्चालक रहेको आपुर्ती कम्पनीले विभिन्न टेण्डरमा पेश गरेको कर चुक्ता प्रमाणपत्र पेश गर्दा आन्तरिक राजश्व कार्यालयमा हुँदै नभएको चलानी नम्बर, मिति र कर अधिकृतको हस्ताक्षर गरेको भेटिएको छ।
कर चुक्ता प्रमाणपत्र किर्ते गरेर टेण्डर हत्याएको पुष्टि भएसंगै अमित मेडिसिका सञ्चालक दुस्यन्त बस्नेत र प्रदीप अग्रवाललाई ७ बर्ष सम्म कैद हुन सक्ने व्यवस्था रहेकोमा बस्नेत अहिले धरौटीमा रिहा भईसकेका छन् भने अग्रवाल फरार छन्।