कोरोना भाईरस: सुदूरपश्चिममा सतर्कता अपनाउन उदासिनता
धनगढी: सन २०१९ डिसेम्बर ३१ अर्थात गत पुस १५ मा चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड– १९ कोरोना भाइरस अहिलेसम्म विश्वका ५० भन्दाबढि देशहरुमा फैलिसकेको छ। महामारीका रुपमा देखा परेको कोरोनाबाट हालसम्म ३१ सय भन्दाबढि संक्रमितले ज्यान गुमाइसकेका छन्।
विश्व स्वास्थ्य संगठनले नेपाललाई उक्त भाइरसको उच्च जोखिममा राखेको छ। तरपनि कोरोनाको संक्रमण फैलन नदिन नेपालमा आवश्यक तयारी हुन सकेको छैन्।
झन सुदूरपश्चिम प्रदेशको कुरा गर्ने हो भने यहाँ कोरोना भाईरसबारे आवश्यक जनचेतना समते प्रदान गरिएको छैन। यहाँको प्रदेश र स्थानीय सरकारले कोरोनाको संक्रमण फैलिन नदिन आवश्यक पर्ने पूर्व सावधानी अपनाउन सकेका छैना्।
यस प्रदेशका ६ स्थान धनगढीको गेटा विमानस्थल, कैलालीको गौरीफन्टा र खक्रौला नाका, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट र दार्चुलाको धार्चुलामा कोरोना भाइरस जाँच कक्ष स्थापना गरिएको छ। तर संक्रमित भेटिएमा क्वारेन्टाइनको व्यवस्था भने गरिएको छैन।
चीनमा ठुलो संख्यामा कोरोना संक्रमीत रहेकाले चीनबाट संक्रमित नेपाल भित्रिने खतरा छ। सुदूरपश्चिम प्रदेश पनि भारत तथा चीनसंग जोडिएकाले संक्रमित भित्रिने जोखिम छ। सुदूरपश्चिम उच्च जोखिममा हुँदाहुँदै पनि सम्बन्धीत निकायले गम्भीर रुपमा नलिएको पाइएको छ।
सहायता कक्षबाट कोरोनाबारे जनचेतना जगाउनुका साथै शंका लागेका व्यक्ति परिक्षणका लागि पठाउने काम दावी गरिएको छ। तर स्वास्थ्य सहायता कक्षमा रहेका स्वास्थ्य कर्मीहरुसंग पनि उपकरणको अभाव छ। उनीहरुले शंकाको भरमा मात्र परिक्षणका लागि नमुना पठाउने छन्।
प्रदेश सरकारले योजना बनाउने
सीमा नाकासँग जोडिएको सुदूरपश्चिममा कोभिड– १९ कारोना भाइरसबाट सर्तक रहन प्रदेश सरकारले आग्रह गरेको छ। प्रदेशमा संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारले नितीगत निर्णय गरेको बताइएको छ।
‘विश्व स्वास्थ्य संगठनले नेपाललाई हाईअलटमा राखेको छ’ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘नीतिगत निर्णय गरिएको छ। प्रदेशका स्वास्थ्य संस्थाहरुरुलाई तयारी रहन भनेका छौ। सबै स्वास्थ्य संघसंस्थालाई परिपत्र समेत गरेका छौ। संक्रमितलाई क्वारेनटाईनमा राख्नुपर्छ भनेका त छौ तर सुदूरपश्चिममा क्वारेन्टाइ छैन। त्यसकारण अहिललाई सेती प्रादेशिक अस्पतालमा राख्ने प्रबन्ध मिलाएका छौ।’
‘मंगलबार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समुह धनगढी आउदैछ’ कार्कीले भने, ‘संरचना निर्माण गर्न सकिदैन् तर संघीय सरकारको योजना अनुसार प्रदेश सरकारले पनि योजना निर्माण गर्ने छ।’ २१ गते सुदूरपश्चिमका मुख्यमन्त्री सहित, मन्त्री तथा सचिवहरुको बैठक बस्ने भएकाले उक्त बैठकले केहि निर्णय गर्ने उनले बताए।
सर्तक रहन चकित्सकको सुझाव
कोरोना संक्रमण भए ज्वरो आउने, घाटी दुःख्ने, खोकी लाग्ने, श्वास फेर्न कठिनाई हुने शरिरका विभिन्न अस्वभाविक लक्षण देखिने चिकित्सकहरु बताउँछन्।
कोरोना लागेमा मानिसको मृत्यु नै हुने भएकाले खोक्दा, हाँच्छिउँ गर्दा रुमालले मुख छोप्ने, मासु, अन्डा राम्रोसँग पकाएर खाने तथा सरसफाईमा विशेष ध्यान दिन सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले सुझाव दिएका छन्।
उनले कोरोनाको संक्रमणबाट जोगिन मानवीय व्यवहारमा सचेत हुनुपर्ने बताए।