दार्चुलामा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा प¥यो
दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ। एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डा सुरेन्द्रप्रसाद भट्टले बताए। उनीहरुमा आँखा पहेँलो हुने, ज्वरो आउने, वाकवाकी लाग्ने लगायतको लक्षण देखिएका छन्। हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो। यस रोगले मानिसको कलेजोमा असर गर्ने गर्दछ। अन्य मौसमभन्दा वर्षात्को समयमा यस्तो रोग बढी देखा पर्दछ। यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ। मानव शरीरमा महत्वपूर्ण अंगका रुपमा रहेको कलेजो सुन्निएको अवस्था नै हेपाटाइटिस हो। विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि यस रोगका कारक भएको डा भट्टको भनाइ छ।