सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुस्यन्त प्रकरणमा प्रहरीको मिलोमतो, अस्पतालले डिस्चार्ज गरेपनि थुनामा नराखेको खुलासा

२०७६ फाल्गुन १६, ०७:०१ नवराज पनेरु

धनगढी : सरकारी कागजात किर्ते गरेर करोडौँको टेण्डर हत्याउँदै आएका धनगढीका औषधी व्यवसायी दुस्यन्त बस्नेतलाई जोगाउन प्रहरी नै लागेको खुलासा भएको छ। अदालतले पक्राउका लागि अनुमती दिएको झण्डै दुई महिनासम्म बस्नेतलाई पक्राउ नगरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बस्नेत आफै प्रहरीमा उपस्थित हुँदा समेत थुनामा नराखेपछि प्रहरीले नै उनलाई जोगाउन लागेको खुलेको हो।

प्रहरीमा आत्मसमर्पण गरेको दिनदेखि स्वास्थ्यमा समस्या देखिएको भन्दै धनगढीको सीपी अस्पतालमा भर्ना भएका बस्नेत अहिले धरौटमिा छुटिसकेका छन्। तर छुट्नअघि अस्पतालले डिस्चार्ज दिदा समेत प्रहरीले थुनामा नराखेको खुलासा भएपछि प्रहरीको भुमिकामाथि आशंका बढेको छ।  

सीपी अस्पतालले बस्नेतलाई फागुन १४ गते डिस्चार्ज गरेको थियो। अस्पताल प्रशासनले भन्यो, ‘बिहिवार अर्थात १४ गते बिहानै बस्नेतलाई अस्पतालबाट डिस्चार्ज गरिएकोमा डिस्चार्जअघि नै बस्नेत भने अस्पतालबाट अन्यत्र गईसकेका थिए। डिस्चार्जको फाईल समेत लगिएको छैन्। अहिले पनि अस्पतालमै छ।’

अस्पतालले डिस्चार्ज नगर्दा थुनामा राख्न नसकिएको बताउँदै आएको कैलाली प्रहरीले डिस्चार्जपछि बस्नेतलाई थुनामा राख्नुको सट्टा १४ गते खुलेआम घुम्न दिएको हो। सरकारी कागजात किर्ते गरेका अभियुक्तलाई भीआईपी सुविधा दिदै आएको जिल्ला प्रहरी कार्यालय कैलालीले डिस्चार्जपछि पनि थुनामा नराखेको खुलेपछि प्रहरीको भुमिकामाथि आशंका बढ्दै गएको छ। 

१४ गते डिस्चार्ज पाउनु अघि नै बिहानै अस्पतालबाट बाहिरिएका बस्नेतलाई १५ गते जिल्ला अदालत कैलालीमा प्रहरीले उपस्थित गराएको थियो। प्रहरीले १५ गते अस्पतालबाटै बस्नेतलाई लगेर अदालतमा उपस्थित गराएको दावी गरेको छ। तर समाचार स्रोतका अनुसार बस्नेत १४ गते अस्पतालबाट बाहिरिएर दिनभरी खुलेयाम घुम्दै १५ गते अस्पताल पुगेका हुन्। त्यस्मा प्रहरीले नै उनलाई सघाएको समेत स्रोतको दावी छ।

प्रहरी हिरासतमा रहेका बस्नेतलाई थुनामा राख्नुको सट्टा बजारमा खुलआम घुम्न दिएको प्रहरीले कमजोर अनुसन्धान गरेका कारण बस्नेत धरौटीमा छुटेको समेत आशंका गरिएको छ। बिहिवार मात्रै जिल्ला अदालत कैलालीले बस्नेतलाई एक लाख १० हजार धरौटीमा छाडेको थियो।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरी भने १४ गते नै डिस्चार्ज भएको विषयमा आफुलाई जानकारी नभएको भन्दै पन्छिएका छन्। उनले भने, ‘हामीले १५ गते बस्नेतलाई अस्पतालबाटै ल्याएर अदालतमा उपस्थित गराएका हौँ। अस्पतालले डिस्चार्ज गरेको भए ड्युटीमा खटिएका प्रहरीले हामीलाई जानकारी दिईसक्थे। १४ गते डिस्चार्ज गरिएको हुनै सक्दैन्।’ तर १४ गते बस्नेतलाई डिस्चार्ज गरिएको प्रमाण दिनेश खवरसंग छ। 

सरकारी छाप दस्तखतमा मुद्धा लागेपछि झण्डै दुई महिना फरार रहेका बस्नेत माघ २८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका थिए भने उनलाई एक दिन समेत प्रहरीले थुनामा नराखी अदालतले धरौटीमा छोडिसकेको छ। यसअघि पनि किर्ते गर्ने व्यवसायी बस्नेत पक्राउ बारे कैलाली प्रहरीले झुक्याएको थियो।

अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक बस्नेतलाई अस्पताल भर्ना गराएर जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा राखिएको भन्दै ५ दिन सम्म प्रहरीले झुक्याएको थियो। समाचार स्रोतका अनुसार बस्नेतले धरौटीमा छुट्नकै लागि ठूलो आर्थिक चलखेल गरेका थिए। धरौटीमा छुटिसकेपछि अव सफाई पाउनका लागि बस्नेत चलेखेलमा लागिसकेका छन्। 

जिल्ला न्यायधिवक्ताको कार्यालयले बस्नेतलाई ७ बर्ष सम्म कैद र ७० हजार जरिवानाको माग दावी गरेकोमा अदालतले एक लाख १० हजार धरौटीमै रिहा गरेको हो। जिल्ला न्यायधिवक्ता विष्णु प्रशाद पौडेलका अनुसार बस्नेतले अदालतमा पनि कागजात किर्तेको अभियोग स्विकार गरेका थिएनन्।

उनले भने, ‘सरकारी छाप दस्तखतमा ७ बर्ष सम्म कैद सजायको व्यवस्था छ। हामीले पनि मागदावी सोही अनुसार गरेका थियौँ। तर कम्तिमा एक दिन पनि कैद सजाय हुन सक्छ। तीन बर्ष भन्दा बढि कैद सजाय हुन सक्ने आधार भए मात्रै तर पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था छ। अदालतले त्यो आधार नदेखेपछि धरौटीमा रिहा गरेको होला।’ आन्तरिक राजश्व कार्यालय कैलालीले भने गेटा आँखा अस्पतालको टेण्डर पाउनका लागि बस्नेत सञ्चालक रहेको अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको पुष्टि गरिसकेको छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस