धुमधामसँग मकैको बिहे !
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकका बासिन्दाले धुमधामका साथ मकैको बिहे गरेका छन्। एकसाता अघि नै जैसीलाई साइत हेराएर लाप्राकवासीले आज मकैको बिहे गरेका हुन्। धान नफल्ने र मकै नै मुख्य अन्नबाली भएकाले उनीहरुले बिहे गरेर मात्र मकै रोप्ने गर्छन्। लाप्राकमा मात्र नभै धार्चे गाउँपालिकामा पनि लगन पारेर मकैको बिहे हुने गरेको छ।
बिहे गरेर मकै छरेमात्रै उब्जनी हुने परम्पराअनुसार धुमधामसँग मकैको बिहे गरेको स्थानीयले बताएका छन्। धार्चे ५ लप्सीबोट र गुम्दा तथा धार्चे ७ लापु गाउँमा एक साता अघिनै मकै बिहे भैसकेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। सिङ्ला, उहिया, खोर्ला, लापुमा पनि धुमधामले मकै बिहे भइसकेको उनले बताए। मकैको बिहे गरेपछि मात्रै पाखोबारीमा मकै छर्ने क्रम सुरु हुने गाउँपालिका अध्यक्ष गुरुङले बताए।
‘मकैको बिहे नगरी बारीमा छर्न हुँदैन भन्ने मान्यता रहेको लाप्राकका मारसिं गुरुङले बताए। मकैबिहे नगरी मकै छर्दा घोगामा दाना नलाग्ने र लागेपनि मकै पुड्को हुने उनको भनाइ छ। परापूर्वकालदेखि चलेको चलनलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको गुरुङले बताए। वि.सं. १८१५ सालदेखि गाउँलेलाई अनिकालबाट जोगाउन देवी देउतालाई पुकार्दै मकै बिहे गर्ने चलन शुरु भएको उनको भनाइ छ।
यसरी भयो मकैको बिहे
गाउँका जैसी अर्थात पुरोहितले बिहेको साइत निकालेर परम्परागत प्रक्रिया अनुसार मकै बिहे गर्ने चलन छ। परम्परा अनुसार केही दिन अघि मकैको घोगा जमिनमा गाडिएको थियो। त्यो मकै फेरि जमिनबाट निकालेर बाजागाजा सहित गाउँले जम्मा भएर गाउँ परिक्रमा गरेका थिए। ‘एउटा सानो केटालाई दुलाहा पनि बनाएर लैजान्छौँ’, स्थानीय मारसिं गुरुङले भने ‘छुलेकङ्बाट दुलाहालाई डोलीमा बोकेर गाउँका सबै घरको जन्ती गयौँ। गाउँको पुछार हुँदै मनिडाँडा मुनिबाट फिसीकङमा पुग्यौँ। त्यहाँ एउटी केटीलाई दुलही बनाएर राखेको थियो। अनि दुलही लिएर आयौँ।’
जन्तीको क्रममा गाउँलेले मादल, ढ्यांग्रो, झ्याली लगायतका बाजा बजाएर नाचगान गरेका थिए। छुलेकङ्बाट निस्केको जन्ती फिसीकङबाट दुलही लिएर घट्टेखोलाबाट पुरानो स्कुल हुँदै लाप्राकगाउँ घुमेर ठूलो आँगनमा पुगेपछि बिहे सकिएको स्थानीयले बताएका छन्। बिहे सकिएपछि साँझमा मकैको बिभिन्न परिकार बनाएर भोज खाने चलन रहेको गुरुङले बताए। ‘बिहान नै सबैको घरबाट एक÷एक घोगा मकै र पैसा उठाएका थियौं’, उनले भने, ‘गाउँलेले मिलेर त्यो मकै भुट्छन्। दुलही लिएर ठूलो आँगनमा आएपछि सबैलाई त्यो मकै खुवाउनुपर्छ।’
मकैको बिहेमा जन्ती जानेको मुखमा धेरथोर त्यो मकै पर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताए। भोजपछि घाटु नाच देखाउने चलन छ। उनीहरुले सामुहिक रुपमा असिना, पानी, खडेरीबाट अन्न जोगाइदिन भगवानसँग प्रार्थना गर्ने चलन छ। मकैबिहेका लागि जमिनमा मकै गाडेपछि नझिकेसम्म गाउँलेले जमिन नखोस्रने गुरुङले बताए। मकै बिहेको दिनमा गाउँमा कसैले पनि ढिकी, जाँतो, मेलापातको काम नगर्नेचलन रहेको उनको भनाई छ।