धनगढीमा लागु औषध ओसारपसार गर्ने २ युवती सहित ६ जना कारागार चलान
धनगढीमा लागु औषध ओसारपसार गर्ने दुई युवती सहित छ जना कारागार चलान भएका छन्। गत मंसिर ५ गते धनगढीको बेल्स क्याफे नजिकैबाट दुई ग्राम छ सय ८० मिलिग्राम लागु औषध सहित पक्राउ परेका भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षका बिवेक गुप्ता, कञ्चनपुर पुर्नवास नगरपालिका– ११ का२९ वर्षीय दिप थापा र बिनोद थापा कारगार चलान भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश कार्कीले उनीहरु तीनै जनालाई आज जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको दिनेश खबरलाई बताए। यस्तै गत मंसिर ११ गते धनगढीबाट तीन ग्राम ७ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका थप तीन जना पनि कारागार चलान भएका छन्।
धनगढी–५ जाईका २८ वर्षीय इन्द्रजित धामी, वडा नम्बर ८ की १८ वर्षीय एलिसा तामाङ र बाजुरा घर भई हाल धनगढी १ बस्दै आएका १९ वर्षीया मोनिका बुढालाई पनि जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो। प्रहरी निरिक्षक कार्कीले अदालतले बुढा र तामाङसंग एक एक लाख धरौट माग गरेको बताए। तर बुझाउन नसकेपछि उनीहरु कारगार चलान भएका हुन्।