सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगाका कर्मचारीले नमस्कारसहितको सेवा प्रवाह गर्ने

२०७६ फाल्गुन ७, ०५:०४

कैलाली: कैलालीको गौरीगंगानगरपालिकाका कर्मचारीले सेवा प्रवाहलाई मानव अधिकारमुखी बनाउन सेवाग्राहीलाई प्रथम नमस्कारसहितको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्।

बुधबार एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड’ विषयक सचेतना कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

सेवाग्राही र सेवा प्रदायक निकायबीच सुमधुर सम्बन्ध बनाउनका लागि कर्मचारीले सेवाग्राहीसँग अभिवादन तथा समानजनक व्यवहार, छिटो र छरितो सेवा प्रवाह, भलाकुसारी तथा सम्बन्ध विस्तार, असम्भव पक्षलाई विकल्प दिने, सेवा पृष्ठपोषण लिने, सेवाग्राहीसँग सेवाबारे अप्रत्यक्ष रुपमा छलफल गर्नेलगायतका विषयमा जोड दिइएको छ।

गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले विगतमा सेवाग्राही कार्यालयमा आउँदा सेवाग्राहीले नै सुरुमा नमस्कार गर्ने गरेको र अबका दिनमा व्यावहारिक पक्षलाई ध्यान दिँदै नमस्कार गरेर स्वागत गर्ने बताए।

उनले सेवाग्राही र सेवा प्रदायी निकायबीच सुमधुर सम्बन्ध भई काम कारवाहीमा पनि सहज हुने उल्लेख गरे। एफएमडिसीका कार्यकारी निर्देशक उमीदबाग चन्दले गौरीगङ्गा नगरपालिकालाई एक वर्षभित्र मानव अधिकारमैत्री नगरपालिका बनाउन एफएमडिसी र नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए।

कार्यक्रममा मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड विषयमा छलफल गरिएको थियो। -रासस

कमेन्ट लोड गर्नुस