मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधी दोस्रो पटक १ वर्ष थपियो
निर्माणाधिन मोहनापुल अत्तरिया छ लेन सडकको निर्माण अवधी थप गरिएको छ। २०७४ जेठमा दुई वर्ष निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको सडकको म्याद दोस्रो पटक एक वर्ष थपिएको हो। मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले मंसिरदेखि लागु हुनेगरी तीनवटै खण्डको निर्माण अवधी थप भएको दिनेश खबरलाई बताए।
निर्माण व्यवसायीको माग अनुसार म्याद थपका लागि पठाईएको प्रस्ताव संघिय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत हुँदै विभागबाट स्वीकृत भएको जानकारी दिए। उनका अनुसार मंसिरदेखि लागु हुनेगरी पहिलो खण्डका लागि २०७७ मंसिर ६, दोस्रो र तेस्रो खण्डका लागि मंसिर १५ गते सम्मका लागि म्याद थपिएको हो।
यसअघि गत जेठमा सम्झौता अवधी सकिएपछि पहिलो पटक मंसिर सम्मका लागि म्याद थप गरिएको थियो। तर दोस्रो पटक म्याद थपका लागि पठाईएको फाईल चित्त बुझ्दो कारण माग गर्दै साउनमा फिर्ता भएको थियो। ६ लेन सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना, रुख, पोल तथा पाईप लाईन हटाउन भएको ढिलाईका कारण निर्धारित समयमै काम सम्पन्न गर्न नसकिएको निर्माण व्यवसायीको दावी छ।
तर अहिले थप भएको समय अगावै काम सम्पन्न हुने जिकिर गरिएको छ। अहिले सम्म ६ लेन सडकमा ५५ प्रतिशत मात्र भौतिक प्रगती भएको छ भने दुवैतर्फ गरी तीन किलोमिटर कालोपत्रे गरिएको सडक योजना कार्यालयले जनाएको छ। तर छ लेन सडकमा पर्ने पुल निर्माणको काम अझै सुरु हुन सकेको छैन्।
विभागबाट डिजाईन स्टमेट स्वीकृत भईसकेकाले छिट्टै पुल निर्माणको काम थालिने दावी गरिएको छ। सडक योजना कार्यालय धनगढीका अनुसार सडक विभागको पुल महाशाखाले सडकमा पर्ने तीन मध्ये दुई पुलको डिजाईन स्वीकृत गरेको हो।
मोहना नदीको पुलका बारेमा अझै छलफल गर्नुपर्ने देखिएपछि गेटास्थित मनहरा पुल र सुनि खोलामा निर्माण गरिने पुलका डिजाईन स्वीकृत भएको योजना प्रमुख होमबहादुर एसीले बताए।