महिनावारी भएको चेक गर्न शौचालयमा लगेर भित्री कपडा खोल्न लगाएपछि..
एउटा विद्यालयका प्रधानाध्यापक, छात्रावास रेक्टर, र चतुर्थ श्रेणीका कर्मचारीलाई निलम्बित गरिएको छ। भारतको पश्चिमी राज्य गुजरातमा रहेको सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययन गरिरहेका छात्राहरुले महिला कर्मचारीको अगाडि भित्री कपडा फुकाल्नु परेको बताएका बीबीसीले जनाएको छ।
६८ जना छात्रालाई कक्षाकोठाबाट शौचालयमा लगेर एकरएक गरी भित्री कपडा फुकाल्न लगाइएको खबरमा बताइएको छ।
पीडित छात्राहरूका अनुसार महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै कलेजले यस्तो गरेको हो। कलेजको नियमअनुसार महिनावारी भएका महिलाहरूलाई मन्दिर तथा भान्सामा प्रवेश गर्न र अरु विद्यार्थीलाई छुन प्रतिबन्ध छ।
खाना खाने बेला महिनावारी भएका महिलाहरूले अरूभन्दा पर बस्नुपर्छ। आफ्नो थाल आफैले माझ्नुपर्छ र कक्षाकोठाभित्र सबैभन्दा पछाडिको बेन्चमा बस्नुपर्ने हुन्छ।
हरेक छात्राले महिनावारी भएको बारेमा एउटा फायलमा नाम लेख्नुपर्नेमा गएको दुई महिनादेखि कसैले पनि नाम नलेखेपछि कलेज प्रशासनले महिनावारी भए वा नभएको पुष्टि गर्न लगाएको बीबीसीले जनाएको छ।
यो घटना गएको ११ फेब्रुअरीमा एसएसजीआई परिसरको छात्रावासमा भएको थियो। -ऐजेन्सी