धनगढीका कागजात किर्ते आरोपी बस्नेतको बयान सकियो, ५ दिन म्याद थप
धनगढी: सरकारी कागजात किर्ते गरी करोडौँको टेण्डर हत्याएको पुष्टि भएपछि प्रहरीमा आत्मसमर्पण गरेका धनगढीका व्यवसायी दुस्यन्त बस्नेतको बयान लिइएको छ। धनगढीको अमित मेडिसिनका सञ्चालक समेत रहेका बस्नेतको आइतबार बयान लिइएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
बस्नेतको बयान लिइएपनि मुद्दाको थप अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद थप गरिएको उनले बताए। मेडिसिनका सञ्चालक समेत रहेका कागजात किर्ते प्रकरणका अर्का आरोपी प्रदीप अग्रवाल भने फरार रहेको र अन्य व्यक्तिमाथि पनि अनुसन्धान गर्नुपर्ने भएकाले पाँच दिन थप गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। पाँच दिन म्याद थप गरेपछि बस्नेतलाई सिपी अस्पताल धनगढीमै राखिएको छ।
कर चुक्ता प्रमाणपत्र किर्ते गरेर टेण्डर हत्याएको पुष्टि भएपछि दुस्यन्त बस्नेत प्रहरी कार्यालयमा गत माघ २८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा आफै उपस्थित भएका थिए।
अदालतले पक्राउका लागि अनुमती दिएको झण्डै दुई महिनापछि बस्नेत आँफै प्रहरी कार्यालयमा उपस्थित भएपनि बस्नेतलाई स्वास्थ्यको समस्या देखाउँदै जिल्ला प्रहरी कार्यालयले एक दिन पनि थुनामा नराखी धनगढीको सिपी अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो।
उनीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले फेरी आज पाँच दिन थपेको हो।
सरकारी कागजात र दस्खत किर्तेको उक्त मुद्धामा अभियोग पुष्टि भए ७ वर्षसम्म कैद र ७० हजार जरिवानाको व्यवस्था रहेको छ। तर बस्नेतलाई जोगाउन प्रहरीले नै भुमिका खेलिरहेको आरोप लागेको छ।