अत्तरिया बसपार्कको दुर्दशा निरीक्षण गर्न पुगे मन्त्री र नेताहरु, व्यवस्थित बनाउने प्रतिबद्धता
धनगढीः कैलालीको अत्तरियास्थित बसपार्कको स्थलगत अनुगमन गरिएको छ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट, पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्ट, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलगायतको टोलीले आइतबार बसपार्क क्षेत्रको अनुगमन गरेको हो।
अनुगमनका क्रममा बसपार्कको हिलाम्मे अवस्था, अव्यवस्था र पूर्वाधार अभावबारे जानकारी लिइएको थियो।
त्यसक्रममा मन्त्री भाटले अत्तरिया बसपार्कको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए। उनले अत्तरिया बसपार्कलाई सुदूरपश्चिमकै प्रमुख यातायात केन्द्रका रूपमा विकास गर्न आवश्यक योजना र बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाए।
‘अत्तरिया बसपार्क सुदूरपश्चिमको केन्द्र हो,’ मन्त्री भाटले भने, ‘यहाँको हिलाम्मे, अव्यवस्था तथा पूर्वाधार अभावको समस्या समाधान गर्न आवश्यक योजना बनाएर काम अगाडि बढाउनुपर्छ। यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट सुनिश्चित गर्ने विषयमा पहल गर्छु।’
उनले गोदावरी नगरपालिकासँग समन्वय गरी बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने गरी काम अघि बढाइने बताए।
गोदावरीका मेयर वीरेन्द्र भट्टले अत्तरिया बसपार्क सुदूरपश्चिमकै महत्वपूर्ण यातायात केन्द्र भएकाले यसको व्यवस्थापन र स्तरोन्नति आवश्यक रहेको बताए। प्रदेश सरकारसँग सहकार्य गरी बसपार्कको दीर्घकालीन व्यवस्थापन तथा पूर्वाधार विकासका लागि ठोस योजना अघि बढाउने उनले बताए।