धनगढी–दिपायल फास्ट ट्रयाककाे काम छिट्टै सम्पन्न गरिने : सांसद प्रेम आले
डोटी: प्रतिनिधी सभा सदस्य प्रेमबहादुर आले मगरले धनगढी–दिपायल फास्ट ट्रयाककाे काम आफ्नो कार्यकालमा सम्पन्न हुने बताएका छन्। भारत र चिन जोड्नेगरि बझाङ्ग हुँदै ताक्लाकोटसम्म सहायक राजमार्गका रुपमा फास्ट ट्रयाक बिस्तार गर्न लगिएको उनले बताए।
डोटीको शिखर नगरपालिका– १ कपल्लेखीमा शनिबार आयोजित डड्यानी खानेपानी आयोजनाको उद्घाटन गर्दैे मगरले सो कुरा बताएका हुन। सोही अवसरमा बोल्दै उनले प्रदेशको अस्थायी राजधानी धनगढी तोकिएकै कारण स्थायी राजधानी दिपायल बनाउन नसकिएको बताए। उनले आफुले दिपायललाई राजधानी बनाउन सक्दो प्रयास गरेको जिकिर गरे।
जनचाहना अनुसार जिल्लाको विकासमा आफु लागिपरेको बताउदै उनले पश्चिम सेती आयोजना सुरु गर्ने गरी वर्तमान सरकारले काम थालनी गरिसकेको जानकारी दिए।
खानेपानी आयोजनाबाट ६४ घरपरिवार लाभान्वित
डोटी कपल्लेकीस्थित जोशीगाउँमा सम्पन्न उक्त खानेपानी आयोजना संघीय सरकारको झण्डै एक करोडको लागतमा निमार्ण कार्य भएको हो।
डड्यानी खानेपानी आयोजनाबाट ६४ घरपरिवार लाभान्वित भएका छन्। करिव ९ किलोमिटर टाढाको मुलबाट खानेपानी बस्तीसम्म पुर्याइएको र सबै घरधुरीलाई पायक पर्ने गरी ५३ वटा मिटर धारा जडान गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजपुरका इन्जिनियर कृष्ण बोगटीले बताए।