कैलालीमा गाडीको ठक्करबाट युवकको मृत्यु भएको भन्दै पूर्वपश्चिम राजमार्गमा अवरोध जारी
कैलालीमा गाडीको ठक्करबाट युवकको मृत्यु भएको भन्दै पूर्वपश्चिम राजमार्ग अवरोध जारी राखिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएकोमा स्थानीयले गाडीले ठक्कर दिएर उनको मृत्यु भएको भन्दै राजमार्गमा अवरोध जारी राखेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले मोटरसाईकल आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको बताएका छन् तर स्थानीयले छुट्टै गाडीले ठक्कर दिदा चौधरीको मृत्यु भएको दावी गरेका छन्।
पुर्बपश्चिम राजमार्गको गुलरा सडक खण्डमा एउटा गाडीले चौधरी सवार मोटरसाईकललाई ठक्कर दिएको दावी स्थानीयको छ। चुहामा ब्यापार गदै आएका चौधरी घर आउने क्रममा राती गुलरा सड्क खण्डमा मृत अवस्थामा भेटीएपछि पूर्बबाट पश्चिम तर्फ जादै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका थिए।
दोषिलाई कारवाही र पीडित परिवारलाई क्षतीपुर्तीको माग गर्दै रातीदेखि नै राजमार्ग अबरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध हुदा अहिले पूर्बबाट पश्चिम र पश्चिमबाट पूर्ब तर्फ जाने दर्जनौ सवारी साधन विच बाटोमै अलपत्र परेका छन्। तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बैकल्पिक मार्ग भएर सवारी सञ्चालन भईरहेको बताए।