बाजुरामा सातौँ पटक हिमपात, यातायात सेवा बन्द
बाजुरा: बाजुराका उच्च हिमाली भेगमा फेरि हिमपात र वर्षा शुरु भएको छ। एक महिनापछि सञ्चालनामा आएको मार्तडी–कोल्टी सडकखण्ड वर्षासँगै हिमपात भएपछि पुनः अवरुद्ध बनेको छ।
बडिमालिका र बूढीनन्दा नगरपालिकामा पर्ने पोरखे लेकमा हिउँ पर्न थालेपछि बाजुरा सदरमुकाम मार्तडीबाट कोल्टीसम्मका जिप र ट्र्याक्टर चल्न सकेका छैनन्। जिल्लाका उच्च हिमाली क्षेत्रमा मङ्गरबारबाट फेरि हिमापात शुरु भएको हा। हिमपातका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ।
बडिमालिका बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको एक महिनापछि बडिमालिका नगरपालिकाले डोजर लगाएर हिउँ हटाएको हप्ता दिन नबित्दै सडक अवरुद्ध बनेको छ। पोरखे लेकको हिउँ हटाएको चार दिनपछि उक्त क्षेत्रमा हिमपात भएपछि अवरुद्ध बनेको बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले बताए। वर्षा र हिमपातले सडक पूर्णरूपमा बन्द भएको र आवतजावत पनि बन्द भएको उपप्रमुख विष्टले बताए।
जिल्लाको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर बाटो खुलाएको सडक बन्द भएपछि पूर्वी क्षेत्रमा आवतजावत गर्न समस्या भएको उपप्रमुख विष्टको भनाइ थियो। उनले बडिमालिका नगरपालिको सहयोग वडा कार्यालयको समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाएको बताए।
अवरुद्ध बनेको सडक क्षेत्रको बाक्लो हिउँ नगरपालिकाले पन्छाएर जिप तथा मालवाहक सवारी साधन चलेको चार दिनपछि पोरखे लेकमा पुनः हिमपात भएपछि यातायात सेवा बन्द भएको जय मालिका यातायातका सचिव देवेन्द्र नाथले बताए। मङ्सिर २७ गते पहिलोपटक हिमपात भएको थियो। त्यसपछि पटक–पटक गरेर सातौँ पटक जिल्लाका उच्च भूभागमा हिउँ परेको छ।
पोरखेलेकमा हिउँ जम्न थालेपछि हिँडडुलमा समस्या भएको बडिमालिका नगरपालिका–७ रजातोलीका स्थानीय श्रीचन्द्र पाध्यायले बताए। मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन्। हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायी चक्र बडुवालले बताए।
पटक–पटक वर्षासँगै हिमपात भएपछि यहाँको जनजीवन नराम्ररी प्रभावित बनेको छ। वर्षा र हिमपातका कारण जिल्लामा अत्यधिकरूपमा चिसो बढेको छ। चिसोका कारण यहाँका बालबालिका, वृद्धवृद्धा बढी प्रभावित बनेका छन।
वर्षासँगै हिमपात भएपछि जङ्गली जनावरको चोरी सिकारी बढ्ने गरेको छ। चिसोबाट बच्नका लागि पशुपक्षी गोठतिर आउने गरेको मौका पार्दै स्थानीयवासीले जङ्गली जनावरको चोरी सिकारी गर्ने गरेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ। -रासस