सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीः दुई हजार ७१५ जनाको उद्धार

२०८३ भदौ १४, ०४:०१ रासस

काठमाडौँ: रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको अचानकको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये हालसम्म रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रबाट दुई हजार ७१५ जनाको उद्धार गरिएको छ। 

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएकामध्ये विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत र उपचारपछि ‘डिस्चार्ज’ भएका गरी हालसम्म १६० जना रहेका उनले जानकारी दिए।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएकामध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी रहेका प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताए।

बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै सम्पर्कविहीनको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच, विभिन्न जिल्लाबाट आज दिउँसो २ः०० बजेसम्म ७६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २६४, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १०० जनाको शव फेला परेको हो।

कमेन्ट लोड गर्नुस