बाजुरामा विनायोजनाका विकासले निम्त्यायो विनाश
बाजुरा: बाजुराको हिमाली गाँउपालिका– ५ मा आर्थिक गत आर्थिक वर्षमा माकवाडी–बिच्छँया–हिल्सा सडकको निर्माण कार्य सुरु गरियो। प्रदेश सरकारको १ करोड लगानिमा करिब ७ किलोमिटर सडक खुल्यो। सडक डोजरले खन्यो। तर सडक खन्दा कुयडी, कवाडी, बच्छँयामा सिचाइका लागी निर्माण भएका तिन वटा सिँचाइकुलो तहसनहस भयोे। त्योसँगै कवाडी खोला जलविद्युतको नहरसमेत सडकले भत्काएको स्थानीय हर्कबहादुर बुढाले बताए।
२०७५ माघ महिनामा सडक निर्माणका कारण तिनवटा सिँचाइकुलो भत्काएपछि १ सय ५० परिवारको जमिन पुरै बाझो अवस्थामा छ। उनीहरुले लगाएको हिउँदेवाली सिँचाई नहुँदा सबै नष्ट भएको छ। स्थानीयले ठेकेदार र पूर्वाधार विकास कार्यालय अछामलाई सिँचाइ नहर बनाइदिनका लागि आग्रह गरेका थिए। तर कसैले पनि उनीहरुको कुरा सुनिदिएनन्, त्यसपछि वर्षेवालीमा समेत धान रोप्न वर्षातको पानी कुर्नुपर्ने अवस्था आएको छ। ‘एकातिर नहर भत्काइयो, अर्कोतिर लगाएको अन्नवाली खेतमै सुक्यो। क्षतिपुर्तिका लागि स्थानीय स्तरमा माग गरिएतापनि कसैले कुरा सुनिदिएन’ स्थानीय दानबहादुर बुढाले गुनासो गरे।
गहुँवाली र वर्षेवाली राम्रोसँग उत्पादन नहुँदा उक्त गाउँमा खाद्यसंकटको अवस्था आएको छ। ‘डेढसय परिवारको राम्रो उत्पादन हुने क्षेत्र हो, सिँचाइ नभएका कारण अन्न उत्पादन नभएपछि खाद्य संस्थानको डिपो धाउनु परेको अवस्था छ’ स्थानीय धौली बुडाथापाले दुखेसो सुनाइन। जग्गाको माथिबाट डोजरले सडक खन्दै गएपछि जग्गामा ढुङ्गामाटो थुप्रिएको उनले बताइन।
त्यस्तै कवाडी भएर हुम्लाजाने सडक कर्णाली करिडोर निर्माणहुँदा कवाडी सिँचाइकुलो सडकले भत्काइदिएको छ। सेनाले निर्माण गर्न लागेको उक्त सडक निर्माणका बेला स्थानीयले नहर बनाउन माग गरेको भएपनि कसैले वास्ता नगरेको स्थानीय अगंलाल बुडथापा सुनाउँछन।
योजना निर्माण गर्दा प्रारम्भीक वातावरणीय परिक्षण र विस्तृत परियोजनाको अध्यन गरेर मात्र काम अगाडि बढाउनुपर्छ। योजना निमार्णका क्रममा खानेपानी, सिँचाई, जंगललगायतका संरचना क्षति हुन गएमा क्षतिपुर्ति दिनुपर्ने हुन्छ। तर यो सडक निर्माण हुँदाकुनै अध्ययनविना नै काम भएको छ।
पूर्वाधार विकास कार्यालय अछामका निमित्त प्रमुख जंगथापाले समेत सिँचाइ कुलोमा क्षतिभएको स्वीकार गरेका छन्। तर फेरि कवाडी–बिच्छँया–हिल्सा सडकमा पनि प्रारम्भीक वातावरणीय अध्ययनविना काम सुरु भएको छ। यस विषयमा थापालाई सोध्दा उनी भने उक्त योजनाको लागी स्थानीय विकास मन्त्रालयको वातावरण शाखामा प्रारम्भिक वातावरणीय परिक्षणको फाइल गइसकेकाले स्वीकृत हुन बाँकि रहेको बताउँछन्।
त्यस्तै मार्तडीदेखी गौमुल गाउँपालिको कार्यालयसम्म सडकमा प्रदेश सरकार, स्थानीय सरकार र संघ सरकारको बजेट छ। तर हालसम्मपनि वातावरणीय प्रभाव मुल्याकंन भएको छैन्। सडक निर्माण गर्दा क्षतिभएकाले राहत पाएका छैनन्। पिडित समुदायले संघीय सासंद लालबहादुर थापा, बडिमालिका नगरपालिका, गौमुल गाँउपालिकामा पुर्नस्थापना र क्षतिपुर्तिको माग राख्दै आएपनि कतैबाट वास्ता भएको छैन्।
सडकका कारण वस्ती नै विस्थापित
गाउँको माथीबाट सडक निर्माणगर्दा बडिमालिका नगरपालिका– १ मैमातोलाको बस्ती नै पहिरो जोखिममा रहेको छ। वर्षातको समयमा त उनीहरु विस्थापित नै हुने गरेका छन्। घर माथिबाट सडक निर्माण गर्दा स्थानीयले रोक्न खोज्दापनि जबरजस्ती सड्क डोजर खनेर लगीएको स्थानीय बताउँछन। जसका कारण अहिले मैमातोलाका १० परिवारको उठिवास जस्तै भएको छ।
उनीहरु हिउँदमापनि वर्षा भएको बेला वस्तीबाट टाढागएर चौरमा पाल टाँगेर बस्ने गरेका छन्। ‘सुुरुमा त सडक बन्यो अब विकास भयो भन्ने लागेको थियो, अहिले त माथिबाट पहिरो आउँदा उल्टै विनाश भएका
छ’ स्थानीय नरी बिष्टले भने। पहिरोले २० मुरी धान फल्ने खेत छोपिसकेको उनले बताए।
मैमातोला जस्तै बाजुराका दर्जनौ बस्ती अहिले सड्क निर्माण गर्दा डोजर प्रयोगले पहिरोको उच्च जोखिममा रहेका छन्। स्थानीय सरकारले सडक निर्माणका क्रममा जथाभावि डोजर परिचालन गर्दा बस्ती जोखिम र खेती योग्य जमिन तहसनहस हुँदै गएको छ।
बुढिन्नदा नगरपालिका–९ बस्ने धर्म बोहाराले भने ‘सडकले विकास होइन विनाश ल्याएको छ। सड्क निर्माण गर्ने नाँउमा डोजर लगाएका छन्, जथाभावी बाटो खनेका छन्। अहिले वर्षातले पहिरो आएर निकै समस्या भएको छ।’ ‘खन्न लगाएको भए स्थानीय रोजगार पनि हुने सड्क पनि राम्रो हुने थियो, तर गाउँमा जताततै डोजरले मात्र बाटो खनिरहेको छ’ अर्का स्थानीय लक्षि विकले भने।
आर्थिक वर्ष २०७५/०७६ मा सडक योजनाका लागी बाजुराका ९ स्थानीय तह, प्रदेश र संघले ५० करोडभन्दा बढि बजेट छुट्याएको थियो। जम्मा ४९ सडक योजना सबैमा डोजर परिचालन गरिको पाइएको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ।
जिल्ला वन डिभिजन कार्यालय बाजुरा एक अधिकृतका अनुसार सडक निर्माणका नाममा जंगल समेत फडानी भएको छ। ‘जता जंगल त्यतै सड्क लगेका छन, डोजर प्रयोग गरेर जंगल फडानी भएको छ। त्यसले गर्दा बाजुरामा जताततै पहिरोको त्रास रहेको छ’ उनले भने।