सहरी विकास धनगढीले गुणस्तर परीक्षण नगरेरै भुक्तानी दिने गरेको खुलासा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार मातहतको सहरी विकास तथा भवन कार्यालय, धनगढीले गुणस्तर परीक्षण नगरी भुक्तानी दिने गरेको खुलेको छ।
प्रदेश सरकार मातहतको सहरी विकास तथा भवन कार्यालयले गुणस्तरको परीक्षणसमेत नगरेरै एक करोड ९१ लाख ९० हजार भुक्तानी दिइएको हो। प्रदेश सरकारको कार्यक्रममा सहरी विकास तथा भवन कार्यालय, डोटीमा जनता आवास कार्यक्रममा मनोमानी रकम खर्च गरेको छ। जनता आवासका ५१ कार्यक्रममा ५० योजनामा दिग्दर्शनको प्रक्रिया पूरा नगर्दै मन्त्रालयले छनोट गरेको छ।
सहरी विकास तथा भवन कार्यालय, धनगढीले २ करोड ८० लाख ८६ हजारका १९ वटा ठेक्का सम्झौता गरेको थियो। तर, सहरी विकास तथा भवन कार्यालयले सामानको गुणस्तर परीक्षणसमेत नगरेरै एक करोड ९१ लाख ९० हजार भुक्तानी दिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भएका १९ वटा भौतिक संरचनाका सामानको स्पेसिफिकेशनसमेत बनाइएको छैन। ठेक्का सम्झौता गर्दा गुणस्तर परिक्षणका लागि बजेटको व्यवस्थासमेत गरिएको छैन।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय, धनगढीले कानुनी प्रक्रिया पूरा नगरेरै १९ वटा भौतिक संरचना निर्माण गरेको पाइएको छ। प्रदेशको सार्वजनिक लेखा समितिले कानुनी व्यवस्था बमोजिम गुणस्तरको परीक्षण अनिवार्य गर्न भनेको छ। सहरी विकास तथा भवन कार्यालय, डोटीले जनता आवास कार्यक्रमका ५१ वटा योजनाहरु कार्यान्वयन गरेको छ। तर, बाँकी ५० वटा योजनाहरु भौतिक पूर्वाधार विकास मन्त्रालयले आफै छनोट गरेको छ।
मन्त्रालयले नै प्रक्रिया पूरा नगरी डोटीमा जनता आवास कार्यक्रमका ५० योजना कार्यान्वयन गरेको पाइएको छ। प्रदेश सभाको सार्वजनिक लेखा समितिले डोटीमा ६९ घरहरुको काम पूरा नभएको भन्दै निर्माण कार्य प्रभावकारी बनाउन भनेको छ। सहरी विकास तथा भवन कार्यालय, डोटीले पहिलो चरणमा ८९ घरहरुका लागि प्रतिघर २ लाख ३४ हजार र दोस्रो चरणमा ७८ घरहरुका लागि प्रतिघर तीन लाख ३२ हजारका दरले १६७ लाभग्राहीहरुसँग २०७४ सालमा सम्झौता गरेको थियो।
सम्झौता अनुसारको पहिलो किस्ता भुक्तानी भएको छ। तर, ६९ घरहरुको अन्तिम किस्ता भुक्तानी भएको छैन। सहरी विकासले प्रभावकारी काम नगरेकाले जनता आवसको अन्तिम किस्ताको भुक्तानी रोकिएको प्रदेश सभाको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।