ओडारमा भैंसी पालेर स्नातकोत्तर पढाएको छोरा लोकसेवा पास
गरिबीले खान लगाउन नपुगेपछि तीनरचार गाउँ बसाँई सरेर बस्ने ठाउँको अभावमा निरक्षर आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर (मास्टर डिग्री) पढाएका छोराले लोकसेवा पास गर्नुभएको छ।
बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले लेकको ओडारमा भैंसी पालेर घिउ बेचेर दुई छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ। ओडारमा भैंसी पालेर छोराहरुलाई हुर्काउँदै स्कूल पढाएका केटरी बोहराका कान्छो छोरा खडकसिंह बोहराले भर्खरै लोकसेवा पास गर्नुभएको छ। खड्कसिंहले एक महिनाअघि लोकसेवा आयोगबाट प्रशासन सहायक पाँचौं तह पास गरेर डडेल्धुराको आमरगढी नगरपालिकामा सेवा सुरु गर्नुभएको छ। खड्कसिंहले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा मास्टर डिग्री गर्नुभएको छ।
लाकेसेवा पास गरेर आमाको आर्शिवाद लिन डडेल्धुराबाट घर पुग्नु भएका खडकसिंह बोहराले आमाले ओडारमा भैंसी पालेर आफुलाई हुर्काउने र पढाउने काम गरेको कुरा शब्दमा बयान गर्न नसकिने बताए। बोहराले भने, –“आमाको संघर्षको कथाले नै आफुलाई मेहनती बनाएको हो। म आमाको ऋण कहिल्यै तिर्न सक्दिन्। हामी दुई जना भाइ यति भाग्यमानी छौं कि, हामीले यस्ती महान आमा पायौं जो, आफु आक्षर तिन्नुहुन्छ तर, हामीलाई यति ठूलो संघर्ष गरेर पढाउनुभयो।”
जेठो छोरा शेरसिंह बोहराले पनि त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा मास्टर डिग्री गरेर गाउँकै माध्यमिक विद्यालयमा शिक्षक छन्। केटरी बोहरा आफू निरक्षर हुन्। नागरिकतामा नारुदेवी नाम भए पनि उनको परिचित नाम भने केटरी छ। उमेरले छ दशक पुग्न लागेकी केटरी बोहरा अहिले पनि ओडारमै भैंसीको स्याहार गर्दै आएकीछिन्।
खेतबारी नभएपछि केटरी बोहराको जीवन कालमा तीन ठाउँमा बसाँइसराइ गरेर लेकमा भैंसी पालेर अर्काको खेत अधियाँमा काम गरेर छोराहरुलाई पढाएको केटरी बोहरा बताइन्। केटरी बोहराको परिवारको पुर्खौली घर पाटन नगरपालिका–५, बसन्तपुर हो। त्यहाँ खान लगाउन नपुगेपछि बोहरा परिवार २०३५ सालमा पाटन नगरपालिका–१, डैसीली गाउँको लेकतिर उक्लियो।
डैसीली गाउँमा पनि अन्नपात खासै राम्रो नफलेपछि पाटन नगरपालिका–७, कैलपालको मजेडा गाउँको ओडारमा बसेर अर्काको खेत अधियाँमा कमाईखान थालेको केटरी बोहराले बताइन्। २०३८ सालमा अर्काको खेतमा रोपाईँ गरिरहेका बेला सुत्केरी व्यथा लागेपछि केटरी बोहरा सुत्केरी हुन ओडारमा गइन्। त्यही ओडारमा केटरी बोहराले जेठो छोरा शेरसिंहलाई जन्म दिएको हुन्। आफ्नो घर भए पो १ सुत्केरी हुन घरमा जान्थे। घर थिएन, त्यसैले ओडारमा सुत्केरी भएको केटरी बोहराले बताइन्। भैंसी पालेर घिउ बेच्दै छोराछोरी पढाउँदै बचत गरेको पैंसाले २०५९ सालमा बल्ल आफ्नो घर बनेको उनले बताइन्। त्यो घरमा पनि अहिले केटरी बोहराका श्रीमानका तीन भाईको अंश छ।
उनले भनिन्। ‘छोराहरु अब जागिरे भईसकेका छन्। अब अलगै घर बनाउलान्। मलाई त अब के राम्रो घर चाहियो र ? छोराहरु बस्ने राम्रो घर भए मलाई त्यसैमा खुसी लाग्छ। भैंसी पालेर छोराहरु पढाए।’ अधियाँमा कमाई खाएको खेत पनि अहिले उनीहरुले किनिसकेका छन्। अधियाँमा कमाउँदै आएको खेत आफैले किनेको बताउँदै केटरी बोहराले भनिन्–“ ऊ त्यो खेतभरी सबै भन्दा बढी हरियो र हलक्क हुर्केको गहुँ जतिको खेत मेरै हो। भैंसीको मलले गर्दा खेती राम्रो हुन्छ। हेर्नुस त मैले लगाएको गहुँ टाढैबाट अलगै चिन्न सकिन्छ।”
निरक्षर केटरीको सानैमा विवाह भएको थियो। श्रीमान रोजगारीका लागि देश विदेश भौतारिए। त्यो बेलाको दुःख सुनाउँदै केटरीले भन्छिन्– ‘घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन्। श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा कम्ती दुःख थिएन्। चिठ्ठी लेख्ने मान्छे नपाएर रोजगारीमा जाने गाउँ अन्य मान्छेसित मौखिक खबर पठाउँथे।’ गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझेकी छन्। केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो।
दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बनाइन्। सपनाको गाँठो फुकाउँदै केटरीले भनिन्, ‘ओढारमा १० वटा भैंसी पाले। त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन्। दूधको बजार पनि थिएन्। घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे। मेरो सपना साकार भएको छ। जेठो छोरो शिक्षक बनेको छ। कान्छोले लोकसेवा पास गर्यो।’ गोर्खापत्र अनलाईनबाट