डोटी र डडेल्धुरामा स्थापना गरिएका यातायात सेवा कार्यालय काम विहिन
सुदूरपश्चिमका दुई पहाडी जिल्ला डोटी र डडेल्धुरामा स्थापना गरिएका यातायात सेवा कार्यालय काम विहिन भएका छन्। सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय मातहत रहने गरी स्थापना भएका यातायात व्यवस्था सेवा कार्यालय काम विहिन भएका हुन्। प्रदेशका सात पहाडी जिल्लाका सेवाग्राहीलाई मध्य नजर गर्दै डोटी र डडेल्धुरामा सेवा कार्यालय स्थापना गरिएका थिए।
तर ती कार्यालयमा केही प्रशासनिक कार्मचारी राख्न बाहेक सेवा प्रवाहमा असफल भएका छन्। पहाडी जिल्लाका सेवाग्राहीहरुले अहिले धनगढी, महेन्द्रनगर पुग्नु पर्ने वाध्याता छ। तर धनगढी र महेन्द्रनगरका यातायात कार्यालयले समेत छिटो छरितो सेवा प्रदान गर्न नसक्दा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले बताए।
‘पहाडी जिल्लाका कार्यालयले सेवा प्रदान गर्न ढिलाई गर्दा सेवाग्राही संगै हामीलाई पनि समस्या भईरहेको छ।’ उनले भने ‘हामीसंग कर्मचारीको पनि अभाव छ, त्यस कारण पनि सेवा प्रवाहमा सास्ती भईरहेको हो।’ शाहले भने। अहिले यातायात व्यवस्था कार्यालय धनगढी र महेन्द्रनगरले मात्रै सेवा प्रदान गरिरहेका छन्। साविकको सेती अञ्चलको लागि धनगढी र महाकालीको लागि महेन्द्रनगरमा कार्यालय स्थापना गरिएको थियो।
तर सेवाग्राहीको चाप बढेपछि दुई वटै कार्यालय थपिएका थिए। तर कार्यालय स्थापनाको लामो समय हुदा पनि सेवा प्रवाह हुन सकेको छैन्। डडेल्धुरामा सवारी चालक अनुमती पत्र लाईसेन्सका लागि ट्राईल सेन्टर स्थापना गर्न सुरुवातमा जग्गा नपाएको भन्दै ढिलाई भएको बताईएको थियो। तर अहिले ट्राईल सेन्टर भाडामा प्रयोग गर्ने भनिएपनि सम्झौता गर्न बाँकी रहेको यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराका प्रमुख कर्ण बहादुर धामीले बताए।
‘ट्राईल सेन्टर भाडामा प्रयोग गर्ने भनिएको छ।’ उनले भने ‘तर अहिले सम्म कुनै सुरसार गरिएको छैन्।’ पहाडी जिल्लाका सेवा कार्यालयकाले सवारी चालक अनुमती पत्र लाईसेन्स वाहेकका अन्य सबै कामहरु भईरहेको दावी गरेका छन्। सवारी जाँचपास, कागजजात नविकरण लगायतका अन्य प्रशासनिक कामहरु भईरहेको सेवा कार्यालयहरुले जनाएका छन्।
डोटीको सेवा कार्यालयमा ट्राईल सेन्टरको लागि आवश्यक पर्ने संरचनाहरु निर्माण भईसकेको यातायात व्यवस्था कार्यालय डोटीका प्रमुख चेतराज भट्टले बताए। ‘तरपनि प्रविधिक कर्मचारीको अभावका कारण सेवा सुरु गर्न सकिएको छैन्।’ उनले भने ‘अवको केही समय भित्र सेवा सुरु हुन्छ।’ अहिले प्रदेशका दुई जिल्लामा मात्रै सेवा कार्यालय भएपनि ति कार्यालयबाट सेवा सुचारु नहुँदा सेवाग्राहीले सवारी चालक अनुमती पत्र लाइसेन्सको परिक्षा दिन सास्ती व्यर्होनु परिरहेको छ।