सिसि क्यामेरा बिहिन कैलाली, अपराध अनुसन्धानमा चुनौती
नयाँ जडानका लागि बजेट अभाव
मंगलवार मात्रै धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का ३६ बर्षीय गंगाराम चौधरीले से ५ प ३९ नम्वरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालयको गेट अगाडी नै रहेको पार्किङमा राखे। मोटरसाईकल पार्किङ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा काम विशेषले छिरेका चौधरी फर्किदा पार्किङमा मोटरसाईकल थिएन्।
जिल्ला प्रहरी कार्यालयको गेटबाटै मोटरसाईकल चोरी भएपनि अहिले प्रहरीलाई उक्त मोटरसाईकल खोज्नका लागि हम्मेहम्मे भएको छ। गेट अगाडी कै सिसीटिभी क्यामेरा समेत विग्रीएका कारण मोटरसाईकल खोज्न समस्या भएको छ।
जिल्ला प्रहरी कार्यालयको गेटमा मात्रै होईन अहिले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीका सार्वजनिक स्थल समेत सिसिटिभी क्यामेरा बिहिन छन्। राजधानी घोषणापछि सुरक्षा चुनौति बढ्दै गएका बेला कैलालीका सार्वजनिक स्थल समेत सिसि क्यामेरा बिहिन रहेका हुन्।
तीन बर्ष अघि कैलाली उद्योग वाणिज्य संघ लगायतको सहयोगमा धनगढी बजार क्षेत्रमा मात्रै १२ वटा सिसि क्यामेरा जडान गरिएको थियो। बजारमा बढ्दै गएको अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने र दुर्घटना गरेर भाग्नेलाई समात्न सजिलो होस भनेर २०७३ साल माघमा सिसि क्यामेरा जडान गरिएको थियो।
तर अहिले १२ वटा सिसि क्यामेरा मध्ये एउटा पनि सञ्चालनमा हुन नसकेको जल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले स्विकार गरे। उनका अनुसार केही महिना अगाडी आएको विनासकारी हावाहुरीपछि सबै सिसि क्यामेरा विग्रिएका छन्।
उनले भने, ‘बैशाखमा धनगढीमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कैलाली जिल्लाका स्थानिय तहका प्रमुख र प्रहरी प्रमुखको सयुक्त बैठकले सिसि क्यामेरा जडानका लागि ५ बुँदे निर्णय गरेको थियो। सोही निर्णयको आधारमा प्रदेश सरकारलाई जिल्लाभरी सिसि क्यामेरा जडान गर्न ७ करोड बजेट माग गरिएकोमा प्रदेश सरकारले ३० लाख मात्रै बिनियोजन गर्दा सिसि क्यामेरा जडानमा समस्या भएको छ।’
उनले सिसि क्यामेरा जडानका लागि अहिले सहयोगी संस्था खोजिरहेको बताए। सिसि क्यामेरा नहुँदा अहिले अपराध अनुसन्धान र नियन्त्रणमा समेत चुनौती बढेको उनको भनाई छ। अहिले नीजि रुपमा सिसि क्यामेरा जडान गर्नका लागि समेत जिल्ला प्रशासन कार्यालय कैलालीको अनुमती लिनुपर्ने बाध्यकारी नियम बनाईएको छ। यस्ले व्यवसायीहरुबाट समेत सिसि क्यामेरा जडान गर्ने क्रम घटेको छ।
प्रदेशका दुई जना मन्त्रीको उपस्थीतीमा १० महिना अगाडी सिसि क्यामेरा जडान गर्दै कैलाली जिल्लाको शान्ति सुरक्षालाई प्रविधीयुक्तत बनाउने निर्णय अहिले सम्म कार्यान्वयन नहुँदा अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीलाई चुनौती थपिएको छ।