सुदूर नेपाललाई विश्वसँग जोड्दै

अदालतको अन्तरिम आदेशपछि धनगढी पार्कको ठेक्का रद्ध भएन

२०७६ माघ १०, ०५:५२ खबर संवाददाता

धनगढी: जिल्ला अदालत कैलालीको अन्तरिम आदेशलाई नै उच्च अदालतले स्वीकृत गरेपछि धनगढीमा रहेको दशरथ भीम उद्यान (पार्क)को ठेक्का रद्ध गर्ने प्रक्रिया रोकिएको छ। 

धनगढी उप–महानगरपालिकाले ठेक्का सम्झौता अनुसार पार्क सञ्चालन गर्न नसकेको भन्दै स्वाँर कन्सट्रक्सनसँगको सम्झौता रद्ध गर्ने प्रक्रिया थालेको थियो। मंसिर १५ गते स्वाँर कन्सट्रक्सनलाई १५ दिनभित्रै पार्क खाली गर्न उप–महानगरपालिकाले पत्र लेखेको थियो।

तर स्वाँर कन्सट्रक्सनले सम्झौता अवधी अझै बाँकी रहेको भन्दै जिल्ला अदालत कैलालीमा ठेक्का सम्झौता अनुसार नै पार्क सञ्चालन गर्न पाउँ भनि मुद्धा दिएको थियो। उक्त मुद्धाको सुनुवाई गर्दै जिल्ला अदालत कैलालीले तत्कालका लागि ठेक्का रद्धको प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो। 

उप–महानगरपालिकाका आलेप अधिकृत लेखनाथ ओझाका अनुसार उप–महानगरपालिकाले जिल्ला अदालतको अन्तरिम आदेश खारेज गरिपाउँ भन्दै उच्च अदालतमा रिट दर्ता गरेको थियो। 

उच्च अदालतले पनि अन्तरिम आदेशलाई नै सदर गरेपछि अहिले पार्कको ठेक्का रद्ध गर्ने प्रक्रिया रोकिएको उनले बताए। उनले भने, ‘स्वाँर कन्सट्रक्सनले ठेक्का सम्झौता अनुसार पार्क सञ्चालन गरेको छैन्। त्यसैले ठेक्का रद्ध गरेर नयाँ प्रक्रियामा जाने योजना थियो। अदालतको अन्तरिम आदेशपछि अहिलेका लागि रद्धको प्रक्रिया रोकिएको छ।’

यता स्वाँर कन्सट्रक्सनका सञ्चालक ऋषिकेश श्रेष्ठले सम्झौता अवधी अझै ५ वर्ष बाँकी रहेको बताउँदै ठेक्का सम्झौता अनुसार नै पार्क सञ्चालन भईरहेको दावी गरे। स्वाँर कन्सट्रक्सनले २०६९ सालमा १२ वर्षका लागि पार्क भाडामा लिएको थियो। 

कमेन्ट लोड गर्नुस