सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोहोरी साँझको विवादले निम्त्याएको धनगढी झडप, ४ जना पक्राउ

२०७६ माघ २, ०३:३९ खबर संवाददाता

धनगढीको मुख्य बजारमै युवाहरुको दुई समूहबिच भएको झडपमा संग्लन ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जनालाई बुधवार राती नै पक्राउ गरेकोमा थप दुई जनालाई आज पक्राउ गरिएको जनाएको छ।

डोटी जोरायल गाउँपालिका घर भई धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुर बस्ने २३ बर्षीय कर्ण बोहरा, २१ बषीर्य रोहित राना, २२ बर्षीय चन्द्र भाट र २१ बर्षीय शुभम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

झडपमा परी घाईते भएका धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीय समिर तियालीको कोहलपुरमा उपचार भईरहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय कैलालकिा अनुसार उनको अवस्था मध्यम छ। 

कसरी भयो झडप ? 
पक्राउ परेका ४ जना र झडपमा परी घाईते भएका तियाली सहित अन्य केही युवाहरु राती १० बजे सम्म धनगढीकै बडिमालिका दोहोरी साँझमा थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार दोहोरी साँझमै मदिरा पिउने क्रममा तियालीको समूह र पक्राउ परेका ४ जना युवाहरुको समूहबिच विवाद भएको थियो।

सोही विवादले मुख्य बजारमै झडप निम्त्याएको हो। दोहोरी साँझदेखि युवाहरुको दुई समूहबिच सुरु भएको झडप वडा प्रहरी कार्यालय जाने सडक सम्म पुगेको थियो। झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ। तियालीमाथि आक्रमण गर्ने क्रममा अस्पतालमा ढुङगा लागेपछि अस्पतालको सिसा फुटेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने– ‘घटनामा संग्लन रहेको आरोपमा पक्राउ परेकाहरुलाई सोधपुछ गर्दा सुरुमा तियालीले नै मोटरसाईकलको हेल्मेटले आक्रमण गरेका थिए। पछि दुवै समूहविच झडप भएको हो।’

पक्राउ परेका चारै जनाले अर्को समूहमा तियाली बाहेक अन्य युवाहरु समेत झडपमा संग्लन रहेको बयान प्रहरी समक्ष दिएका छन्। तर तियाली समूहबाट अहिले सम्म कोही पक्राउ परेका छैनन्। घटनाको अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस