कैलालीको हसुलियामा हुने थारु साँस्कृतिक प्रदर्शनीको तयारी पुरा
धनगढी– थारु समुदायको नयाँ वर्ष एवम् महान पर्व माघको अवसरमा हसुलियामा हुन गईरहेको दोस्रो थारु साँस्कृतिक प्रदर्शनीको तयारी पुरा भएको छ। कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लब हसुलियाद्वारा आयोजित यहि माघ २ र ३ गते हुने थारु साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुट आउटको तयारी पुरा भएको हो। कार्यक्रमका लागि ठाउँ ठाउँमा स्वागत गेट, स्टल निर्माण लगायतका कार्य सम्पन्न भएको छ।
‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने मूल नाराका साथ माघ पर्वलाई विशेष तथा उपलब्धीमूलक बनाउनका लागि हसुलियामा गतवर्ष देखि यो कार्यक्रम हुँदै आएको छ। कार्यक्रमको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत गरिने आयोजकले जनाएको छ। परम्परागत थारु संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, हसुलिया बजारको प्रवद्र्धन गर्ने र स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको सन्देश छड्ने उद्देश्यले कार्यक्रम गर्न लागेको मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले बताए।
कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, बड्का नाच, मुङ्ग्रहुवा नाच, लठ्ठहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका साँस्कृतिक कार्यक्रम रहने छ। कार्यक्रममा ५० वटा साँस्कृतिक टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। यसका साथै अहिलेको चर्चित मोडल तथा गायक राज कुश्मी, अञ्जु कुश्मी र समीक्षा चौधरीको बेजोड प्रस्तुती रहने जनाएको छ।
यसैगरी, पेनाल्टी सुटआउट टोली अन्र्तगत ३५ वर्ष भन्दा माथि उमेर (भेट्रान) समूह ६४, ३५ वर्ष भन्दा मुनि उमेर समूह ६४, र महिला समूह ३२ वटा टिम रहने जनाएको छ । फुटबल पेनाल्टी सुटआउटमा ३५ वर्ष भन्दा माथि उमेर (भेट्रान) समूहमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद एक लाख ११ हजार एक सय ११ रुपियाँ, उपविजेता टिमलाई ५५ हजार पाँच सय ११ रुपियाँ, उत्कृष्ट गोल रक्षक र सर्वा्िधक गोलकर्तालाई ५÷५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
त्यस्तै ३५ वर्ष भन्दा मुनि पेनाल्टी सुट आउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद एक लाख १ हजार एक सय ११ रुपियाँ, उपविजेता टिमलाई ५१ हजार एकसय ११ रुपियाँ, उत्कृष्ट गोल रक्षक र सर्वा्िधक गोलकर्तालाई ५÷५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
महिला समूह अन्र्तगत पेनाल्टी शुट आउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ५१ हजार, उपविजेता टिमलाई २५ हजार पाँचसय रुपियाँ, उत्कृष्ट गोल रक्षक र सर्वा्िधक गोलकर्तालाई दुई हजार पाँचसय पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
पेनाल्टी सुटआउट प्रतियोगिताका लागि ३५ वर्ष भन्दा माथि उमेर (भेट्रान) समूहका लागि पाँच हजार पाँचसय, ३५ वर्ष भन्दा मुनि समूहका लागि पाँच हजार र महिला समूहका लागि २५ सय इन्ट्री शुल्क निर्धारण गरिएको छ।
त्यही कार्यक्रम अन्र्तगत १५ हजार मिटर खुल्ला दौड प्रतियोगिता पनि राखिने आयोजकले जनाएको छ।
जुन प्रतियोगितामा विभागिय टिम बाहेक कैलाली जिल्ला भरिका इच्छुक प्रतियोगिले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार, तेस्रो पुरस्कार १० हजार र सान्त्वना पुरस्कार पाँच हजार रहेको छ।