सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चक्रपथ, कालोपत्रे गरेको ७ महिनामै भत्कीयोे

२०७६ पुष २५, १२:१५ कमल सावद

संघीय सरकारको बजेटमा गत आर्थिक वर्ष २०७५÷०७६ को जेठमा शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीले निर्माण गरेका सडक भत्किन थालेका छन्।

धनगढी चक्रपथ अन्तरगत त्रिनगर भन्सार देखि राजपुर सम्मको सडक भत्कीएर मर्मत थालिएका बेला जाखोर ताल–हुलाकी सडक खण्ड पनि भत्कीएको हो। न्युन गुणस्तरका निर्माण सामाग्री प्रयोग भएपछि सडकको कालोपत्रे र नाली भत्किएको धनगढी उप–महानगरपालिका वडा नम्बर ७ देवरीयाका स्थानीय चुन्नुलाल चौधरीले बताए।

उनले भने ‘नाला बाङ्गो छ। कालोपत्रे सडक उप्कीएको छ। कस्तो निर्माण भएको हो?’यसअघि चक्रपथ अन्तरगत वडा नम्वर ३ को सडक खण्ड पनि भत्कीएको थियो। अहिले वडा नम्वर ७ को सडक भत्किन थालेको हो। पहिलो चरणमा निर्माण गरिएका सडकहरु केही महिना हँदै भत्किएका हुन्।

धनगढीको सवारी चापलाई कम गर्न निर्माण गरिएको चक्रपथ सात महिनामै भत्किएपछि स्थानीयले गुणस्तरमा ध्यान नदिएको आरोप लगाएका छन्। वडा नम्वर ७ मा कालोपत्रे उप्किएको छ भने नाली समेत भत्किएको छ। धनगढीमा तीन खण्डमा चक्रपथको साढे १५ किलोमिटर सडक कालोपत्रे भएको थियो।

साढे १५ किलोमिटर चक्रपथ निर्माणका लागि संघीय सहरी विकास कार्यालयले २९ करोड ९३ लाख खर्च गरेको छ। उक्त सडक लुम्बिनी राजेन्द्र केएस जेभीले निर्माण गरेको हो। तर सडक निर्माणका क्रममा आयोजना कार्यालय र निर्माण व्यवसायीबाट भएको कमजोरीले अहिले वडा नम्वर ७ मा रहेको झण्डै तीन किलोमिटर खण्डमा ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले शहरी विकासको सो सडकमा कम गुणस्तरको निर्माण सामाग्री प्रयोग भएकाले भत्किएको बताए। आर्थिक वर्ष २०७३÷०७४ देखि लागु भएको सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा अहिले सम्म ५० किलोमिटर सडक कालोपत्रे भएको छ।

५० किलोमिटर सडक क्षेत्रका अधिकांस क्षेत्रमा सडक भत्किएपछि आयोजना कार्यान्वयन ईकाइले समेत स्थलगत अनुगमन गरेको थियो। सडकमा धेरै भत्किएको र स्थानीयले विरोध गरेको क्षेत्रमा कालोपत्रे टाल्ने काम भएपनि अन्य क्षेत्रमा भने मर्मतको काम भएको छैन्।

संघीय सरकार मातहतको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका प्रमुख परिक्षित कडरीयाले मर्मतका लागि निर्माण कम्पनीलाई निर्देशन दिएको प्रतिकृया दिए।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस