सुदूर नेपाललाई विश्वसँग जोड्दै

सूचना नपाउँदा सुदूरपश्चिम पुगेका भारतीय पर्यटकलाई अन्यौलता

२०७६ पुष २१, ०७:१२ कमल सावद

परिवार सहित दुधुवा नेसनल पार्क घुम्न आएका भारतका मुरली मौरा र सुधिश विध्यारथी सुदूर पहाडमा हिमपात भएको खबर पछि डडेल्धुरा घुम्न योजना बनाउन पुगे।

उनीहरु दुधुवाबाट सबैभन्दा नजिकको दुरीमा भएको हिमपातको मज्जा लिनकै लागि डडेल्धुरा पुगेपनि राजमार्ग क्षेत्रमा इन्धन सकिएपछि समस्यामा परेका थिए। त्यती मात्र नभएर खान र बस्नको सुविधा खोज्न पनि उनीहरुलाई धौँऔ धौऔ नै प¥र्यो तैपनि डडेल्धुराबाट हिउँको मज्जा लिएर परिवार सहित उनीहरु भारत फर्किएका छन्।

तर प्राकृतिक सुन्दरताको मज्जा लिएको प्रतिकृया दिएका छन्। भ्रमण वर्षको मुखकै सुदूर पहाडमा भएको हिमपातले भारतीय पर्यटकको मन त लोभ्याएको छ तर सीमा क्षेत्र र राजमार्ग क्षेत्रमा सूचना मुलक संकेतको अभाव, खान बस्नको उचित प्रबन्ध नहुँदा यहाँ घुम्न आउने पर्यटकले सास्ती खेप्नुपरेको हो।

उनीहरुले नेपालको प्राकृतिक सुन्दरताको चर्चा गरेपनि आन्तरिक व्यवस्थापन फितलो देखिएको गुनासो गर्दै फर्किन थालेका छन्। उनीहरुले सीमा नाका र राजमार्ग क्षेत्रमा पर्यटकीय स्थलबारे जानकारी लगायतका सांकेतिक सूचना राख्न पनि माग गरेका छन्। आन्तरिक पर्यटकहरुले समेत राज्य स्तरबाट ती काम नभएपछि बाह्य पर्यटकलाई समस्या भएको बताएका छन्।

आन्तरिक पर्यटक देवसिँह बडालले सडक क्षेत्रमा कुनै पनि ठाउँमा पर्यटकीय स्थलको बारेको सूचना, संकेत नभएको बताए। पर्यटकीय स्थलबारे स्पष्ट जानकारी र सूना मुलक संकेतहरु नहुँदा भारतीय पर्यटकलाई बढि समस्या भएको आफूले पाएको उनी बताउँछन्।

सुदूरपश्चिममा भ्रमण वर्ष सुरु भएपछि दोस्रो पटक भारी हिमपात भएको थियो। हगुल्टे लेकसहित डडेल्धुरा सदरमुकाम र बैतडीमा तीन फिट भन्दा बढी हिउँ जमेको थियो। धनगढीबाट एक सय २५ किलोमिटरको पक्की सडकको यात्रा गरेपछि हिउँ परेको क्षेत्रमा भारत र कैलाली–कञ्चनपुरका पर्यटक पुग्न थालेका छन्।

तर भ्रमण वर्षको औपचारिक उद्घाटन गरेका प्रदेश र स्थानीय सरकारले पर्यटकीय स्थलबारे जानकारी मुलक सूचना समेत राख्न सकेको छैन्। पूर्व तयारी बिना भ्रमण वर्षको उद्घाटन गरिएपछि सुदूरपश्चिमबारे गलत सन्देश जाने भन्दै चिन्ताहरु व्यक्त हुन थालेका छन्। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटक ईकाइका प्रमुख किशोर अर्यालले भ्रमण वर्षको उद्घाटनको समिक्षाको समयमा अन्य कमजोर पक्षका बारेमा पनि छलफल गर्ने प्रतिकृया दिए।

उनले पर्यटकीय स्थलको जानकारी, सूचना, संकेतहरुको व्यवस्थाका लागि कार्यक्रम रहेको बताए। स्थानीय तहहरुले पनि अ–आफ्ना क्षेत्रका पर्यटकीय क्षेत्रको बारेको सूचना मुलक सामाग्री प्रकाशन र प्रशारण गर्नुपर्ने उनको भनाई छ। नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक नै भित्र्याउन सकिन्छ। भारतको राजधानी सहितका शहरबाट पर्यटक सडक मार्गबाट सहजै चार-पाँच घण्टाको यात्रामा धनगढी पुग्ने गरेका छन्।

उनीहरु मनोरञ्जनकै लागि घुम्न आउने भएपनि पर्यटकीय स्थलबारे स्पष्ट जानकारी र खान बस्नकै व्यवस्थापन नभएपछि खल्लो महसुस गर्न थालेका छन्। तर प्रदेश र स्थानीय सरकारले यी कुराहरुलाई गम्भीरता पूर्वक नलिएको आरोप लागेको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस