सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा करोडौँका सरकारी भवन बाँझिदै, धनगढीमा लाखौँ भाडामा सम्पर्क कार्यालय

२०७६ पुष १९, ११:४५ नवराज पनेरु

गत साता मात्रै सुदूरपश्चिमको पूरानो क्षेत्रीय सदरमुकाम डोटीको राजपुरमा जाँदा चहलपहल शुन्य जस्तै थियो। सुविधा सम्पन्न भवनहरुका अधिकासं गेटमा ताला लगाईएको थियो भने खुलेका केही कार्यालयमा पनि निम्न तहका कर्मचारी मात्रै भेटिए। सोही क्रममा हामी ४० कोठासहितको सुविधा सम्पन्न भवनभित्र छि¥यौ र उक्त कार्यालय थियो प्रदेश स्वास्थ्य निर्देशनालयको। कार्यालयमा जम्मा २ जना निम्न तहका कर्मचारी भेटिए। तिनै मध्येका एक कर्मचारीले भने– ‘निर्देशक लगायतका अन्य उच्च तहका कर्मचारी भेट्न हामीले त पाएका छैनौँ, तपाईहरुले कसरी भेट्न सक्नुहोला ?’ 

उनका अनुसार निर्देशक डाक्टर गुणराज अवस्थी हप्तौ सम्म कार्यालयमा नपुग्ने समस्या छ। कारण थियो, डोटीमा सुविधा सम्पन्न भवन छोडेर धनगढीमै स्वास्थ्य निर्देशनालयको सम्पर्क कार्यालय खुलिसकेको थियो। स्वास्थ्य निर्देशनालयले धनगढीमा बार्षिक ८ लाख भाडा तिर्ने गरी धनगढीमा सम्पर्क कार्यालय स्थापना गरेपछि डोटीको सुविधा सम्पन्न भवन बाँझिने खतरा बढेको छ। डोटीमै राजधानी भएको भए, स्वास्थ्य निर्देशनालयको भवनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राख्ने योजना नै बनिसकेको थियो। तर उक्त सुविधा सम्पन्न भवन छोडेर अहिले धनगढीमा भाडाको घर लिदै सम्पर्क कार्यालय खोलिएपछि डोटीवासी निरास भएका छन्। 

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने प्रदेशको मन्त्रालय धनगढी र निर्देशनालय डोटी हुँदा काम गर्न समस्या भएकोले धनगढीमै सम्पर्क कार्यालय स्थापना गरिएको हो। ‘सम्पर्क कार्यालय त्यत्तिकै खोलिएको होईन्,’ निर्देशक अवस्थीले दिनेश खवरलाई भने, ‘सम्पर्क कार्यालय खोल्ने प्रदेश सरकारको नीति नै थियो, सोही अनुसार खोलेका हौँ।’

प्रदेश सरकारले राजधानी कैलालीमा घोषणा गरेपछि डोटीको राजपुरमा अधिकासं प्रदेश निर्देशनालयहरू राखेको थिाये। स्वास्थ्य, शिक्षा, यातायात, कृषि, पशुपक्षी तथा मत्स्य विकासका निर्देशनालयहरू राजपुरमै छन्। सिँचाइ, खानेपानी, सडक, भवन तथा सहरीलगायतका डिभिजन कार्यालय पनि राजपुरमै राखिएको छ। तर ति कार्यालयमा न त कर्मचारी भेटिन्छन् न सेवाग्राही नै। ‘अहिले प्रादेशिक निर्देशनालयका कुनै पनि उच्च तहका कर्मचारी डोटीमा बसेका छैनन्,’ डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकवहादुर खड्काले भने, ‘केहीले धनगढीमा सम्पर्क कार्यालय खोलेका छन् त केही धनगढीमै रहेका अन्य कार्यालय मार्फत काम गरिरहेका छन्।’

उनका अनुसार डोटीका तत्कालिन क्षेत्रीय कार्यालयमा निर्देशनालय त खुलेका छन् तर ति कार्यालय मार्फत सेवा प्रवाह नभएको महिनौ हुन थालेको छ। ‘प्रदेश राजधानी हुनुपर्ने माग गरिरहेका डोटीका स्थानीयलाई सहमतीमा ल्याउन प्रदेश सरकारले तत्कालीन क्षेत्रीयस्तरमा रहेका कार्यालयहरूलाई प्रदेश सरकार अन्तर्गतको कार्यालयका रूपमा स्थापना गर्ने घोषणा गरेको थियो। तर सो घोषणा विपरित अहिले धनगढीमा सम्पर्क कार्यालय खोल्ने कार्य भईरहेको छ।’ खडकाले भने। 

डोटी जिल्लामा स्थापना गरिएका लगभग सबै निर्देशनालयहरु अहिले कुरुवाको भरमा सञ्चालन भईरहेका हुन्। अधिकासं निर्देशनालय निम्न तहका कर्मचारीको भरमा सञ्चालन भईरहेका छन् भने कार्यालय प्रमुख सहित अधिकासं उच्च तहका कर्मचारीहरु धनगढी बस्दै आएका छन्।

कृषि, शिक्षा, स्वास्थ्य, यातायता, सडक लगायतका योजना बनाउने र कार्यान्वयनका लागि मातहतका निकायलाई निर्देशन दिने कार्यालयहरु नै अहिले कुरुवाको भरमा सञ्चालनमा छन्। जस्का कारण सबै योजना कार्यान्वयनमा चुनौती बढ्दै गएको छ। अर्को तर्फ सुविधा सम्पन्न सरकारी भवन छोडेर बार्षिक लाखौँ सरकारी ढुकुटी सक्ने गरी भाडाका सम्पर्क कार्यालय खोलिएको छ।

मनोमानी रुपमा कर्मचारीलाई टिएडिए
अहिले प्रदेश निर्देशनालयका अधिकासं कर्मचारी धनगढी बस्दै आएका छन्। तर अधिकासं कर्मचारीले धनगढीमै भएका विभिन्न कार्यक्रममा डोटीबाट आएको भन्दै टिएडिए खाने गरेका छन्।

समाचार स्रोतले भन्यो, ‘केही निर्देशकहरु महिनामा एक पटक समेत डोटी पुग्दैनन्, तर सरकारी कार्यक्रम र गोष्ठीमा सहभागी हुँदा डोटीबाट आएको भन्दै टिएडिए खाने गरेका छन्।’ फिल्ड समेत नगएर कतिपय कर्मचारीले टिएडिए लिएको समेत आरोप लाग्दै आएको छ।  

सम्पर्क कार्यालय खोल्नु गलत : मुख्यमन्त्री
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने डोटीमा कार्यालय स्थापना भएर पनि धनगढीमा सम्पर्क कार्यालय खोल्नु गलत भएको बताए। ‘डोटीमा हामीले शिक्षा, स्वास्थ्य, कृषि लगायतका सम्पर्क कार्यालय खोलिसकेका छौ,’ मुख्यमन्त्री भट्टले दिनेश खवरलाई भने, ‘अहिले कर्मचारी व्यवस्थापनमा समस्या छ। तर धनगढीमा नै सम्पर्क कार्यालय खोलिएको छ भने गलत भएको छ।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस