सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत सहकारीको साधारण सभा सम्पन्न

२०७६ पुष १२, ०६:०४ खबर संवाददाता

कैलाली: कैलालीको गौरीगंगामा रहेको मसुरिया ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा एक करोड ६ लाख ३३ हजार ९ सय ९४ रुपैयाँको आय–व्यय प्रस्तुत गर्दै सम्पन्न भएको छ। 

एक वर्षको अवधिमा ७ लाख १७ हजार ९ सय ६२ रुपैयाँ नाफा कमाएको सहकारीले १२ वर्षको अवधिमा आठ वटा ट्रान्सफर्मरबाट सेवा प्रवाह गरिरहेको छ। १ हजार ७ सय परिवारलाई विद्युतको उज्यालो दिएको सहकारीले आगामी दिनमा अझै परिमार्जित गरि संस्थालाई अगाडि बढाउने बताएको छ। सहकारीले नयाँ लाइन विस्तार गर्न प्राथमिकता दिनुका साथै अनलाइन प्रविधिबाट सेवा सुविधा दिनुका साथै विद्युत महसुल बुझाउन सकिने व्यवस्था गर्न थालेको छ। 

संस्थाका अध्यक्ष मनिराम चौधरीको अध्यक्षतामा शनिबार सम्पन्न साधारण सभामा वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद तिवारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संस्थाका कोषाध्यक्ष रमेशकुमार भाटले आर्थिक वर्ष २०७५/२०७६ को आय–व्यय प्रस्तुत गरेका थिए भने लेखा प्रतिवेदन लेखा संयोजक पवनकुमार बोगटीले प्रस्तुत गरेका थिए।

संस्थाका सचिव भोजबहादुर मन्नीले सञ्चालन गरेको कार्यक्रममा नियमित मासिक बिल भुक्तानी गर्ने ग्राहक घुमन चौधरी, मीनादेवी कुँवर, जोगे आउजी, डिल्लीराम ढकाल र सावी खातीलाई सम्मान गरिएको थियो।  उनीहरुलाई दुईवटा सिएफएल चिमसहित सम्मान गरिएको संस्थाका सचिव भोज मन्नीले बताए।
 

कमेन्ट लोड गर्नुस