२१ बर्षदेखि राजनितिक द्धन्दमा बाजुराको गाँउ, पार्टीपिच्छे भुवा पर्व
बाजुराका खप्तड छेडदह गाउँपालिका २ माटेसाँगुमा एउटै गाँउमा पार्टी अनुसार फरक फरक भुवा पर्व मनाएका छन्। भुवा पर्व गाँउमा दाईभाइ बिचमा भाइचारा कायम गर्नका लागि मनाउने परम्परागत मान्यता छ। तर माटेशागु गाँउमा भने सहोदर दाईभाई फरक–फरक भुवा मनाइरहेका छन्।
माटेशागु बस्ने कुल बहादुर शाही र मोहन बहादुर शाही सहोदर दाईभाई हुन्। कुल नेकपा पक्षमा छन् भने मोहन नेपाली कागे्रस पक्षमा छन्। त्यसैले उनीहरुले भुवा पर्वमा सहभागीता जनाउँदा पनि फरक–फरक स्थानमा जानुपर्छ। उनीहरु जस्तै बिसनबहादुर शाही र धन बहादुर शाही पनि सहोदर दाईभाई हुन्। बिसनको नेकपा र धनको कागे्रसमा आस्था छ।
सहोदर दाईभाई भएपनि भुवा पर्व मनाउन भने आ–आफ्नै पार्टीको मनाउने ठाँउमा मनाइरहेका छन्। उनीहरु पार्टीका कारणले भुवा पर्व जस्तै दशै, पुजापाँठमा अलग अलग सहभागि हुने गरेका छन्। १० बर्ष सम्म त पानी समेत बारबार थियो, जन्ति मलामी समेत अलगै जाने गरेका थियौ, अहिले त्यो केही कम भएको छ, तर चाडपर्व र सामाजिक काम भने अलगै मनाउने गरेको धन शाहीले वताए।
२१ बर्ष पहिले गाउँमा नेपाली कागे्रस र तत्कालिन एमाले बिच बिवाद भएपछि उनिहरु गाँउमा मनाउने चाडपर्वदेखि सामाजिक काममा समेत अलगै सहभागी हुने गरेका छन्। बिहिबार बाट सञ्चालन भएको भुवा पर्व एक साता सम्म मनाउने गरिएको छ। गाउँमा कसैको बिवाह, कसैको छोरा जन्मिएमा र नयाँ घरमा लगाएको भएमा घरमै पुगेर भुवा खेल्ने गरेका छन्। तर पार्टीपिच्छे फरक–फरक भुवा खेलिन्छ।
माटेशागु गाँउमा एक सय २३ परीवार बसोवास गर्ने गरेका छन्। ठकुरी बुढा, कटुवाल, सुनार, सार्की र नेपाली जातीको बसोवास रहेको छ। त्यसैमा पनि ठकुरी जातीको बाहुुल्यता रहेको छ। ३८ परीवार गाँउमा नेकपा समर्थक रहेका छन भने अरु सबै कागे्रस समर्थक रहेको सोही गाँउका नेकपा जिल्ला कमिटी सदस्य गणेश बहादुर शाहीले बताए।
पहिला सबै कागे्रस थिए। केही परिवार एमाले भएपछि गाँउमा निकै द्धन्द चर्केर सबै कुरा अलग अलगै गर्न सुरु भएको उनले वताए। कागे्रस समर्थक रजवार गोकुल शाही छन् भने नेकपा समर्थक लाल बहादुर शाही रहेको वडाअध्यक्ष मिन बहादुर शाहीले वताए। तत्कालिन समयमा नेपाली कागे्रसको तर्फबाट पदम बहादुर शाही र एमालेबाट डबल बहादुर शाहीले नेतृत्व गरेका थिए।
दुबै जिल्ला स्तरका नेता हुन्। त्यो बेला दुबै पक्ष मिल्नुको साटो झन द्धन्दतिर गएको स्थानीय अगुवा बताउछन्। सामाजिक कार्यमा आवश्यक सामाग्रीमा पनि कागे्रस र एमाले भनेर नाम लेखीएको छ। गाँउमा रहेको देबस्थलिय माबि समेत राजनितिक थलो बन्दै गएपछि बिद्यालयबाट एसएलीसी बोर्डमा सहभागि भएदेखी ४ पटक सम्म बिद्यालयमा कोही उत्तिर्ण भएका थिएनन्।