कैलारीका किसानलाई पावर ट्रिलर वितरण
कैलारी गाउँपालिकाले किसानलाई पावर ट्रिलर वितरण गरेको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उनीहरुलाई पावर ट्रिलर वितरण गरेको हो। यसवर्ष २१ जना किसानलाई पावर ट्रिलर वितरण गर्ने योजना अन्तर्गत शुक्रबार १८ जना किसानलाई पावर ट्रिलर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए।
अध्यक्ष चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवाले एक कार्यक्रमकाबीच किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेका थिए। कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले पावर ट्रिलर वितरण गरिएको अध्यक्ष चौधरीले बताए। पावर ट्रिलरका लागि ९४ हजार रुपैयाँ किसानले र बाँकी रकम गाउँपालिकाको कार्यालयले ब्यहोरेको उनले बताए।
गाउँपालिकाले चालु आर्थिक वर्षमा पावर ट्रिलर खरिदका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसअघि, साना सिँचाइ कार्यक्रम अन्तर्गत सो गाउँपालिकाले ३६ जना किसानलाई पम्पसेट वितरण गरेको थियो।