सरकारले निर्धारण गरेको उखुको मूल्य पाउनेमा कञ्चनपुरका किसानको आशंका
सरकारले गत वर्षकै उखुको समर्थन मूल्यलाई निरन्तरता दिएपनि कार्यान्वयन हुनेमा कञ्चनपुरका किसानहरुले आशंका व्यक्त गरेका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोके पनि सो निर्णय कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिएको हो।
गत बर्ष सरकारले मूल्य निर्धारण गरे पनि चिनी मिलहरुले सस्तोमा खरिद गरेको बताउँदै यस बर्ष पनि सरकारले निर्धारण गरेको मूल्य पाउनेमा किसानहरुले आशंका व्यक्त गरेका हुन्। कञ्चनपुर उखु उत्पादक हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द्र ठकुरीले मूल्य निर्धारण भएपनि सो मूल्य किसानले पाउनेमा आशंका रहेको बताए।
‘चिनी मिलहरुलाई सरकारले निर्धारण गरेको मूल्य अनुसार उखु खरिद गर्न आग्रह गर्ने तयारीमा छौ,’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारले कार्यान्वयनका लागि पहल गर्नुपर्छ।’
कञ्चनपुरका उखु किसनाहरुले सरकारले मूल्य निर्धारणमा ढिलाई गरेपछि झण्डै सात लाख क्वीन्टल उखु भने यसअघि नै विक्री गरिसहेका छन्। महाकाली चिनी मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले अहिले उखु खरिद मात्रै भएको बताउँदै सरकारले निर्धारण गरेको मूल्य अनुसार भुक्तानी दिईने दावी गरे।
तर उखु किसानहरुले भने निकै न्यून मूल्यमा उखु विक्री गरिरहेको गुनासो गर्दै आएका छन्। न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारी दाबी छ। समर्थन मूल्यमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउने छ भने बाँकी रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउने छ।