कञ्चनपुरमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ। कृषि व्यवसायमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा २७ लाख वजेट विनियोजन गरेको छ।
विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बाली र केराखेतीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीले बताए।
सो कार्यक्रम अन्तर्गत नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७, ८ लाई तरकारी खेती, वडा नं ४, ५ लाई केरा खेती र वडा नं ९ लाई च्याउखेतीका लागि छनोट गरिएको छ।“तरकारी खेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा ५० प्रतिशत अनुदानमा सिधै खातामा रकम उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ”, अधिकृत धामीले भने “अनुदान रकमसँगै तरकारी बाली, च्याउ र केरा खेतीका लागि तीन दिने तालीम दिने कार्य, माटो परीक्षण, आइपिएम पाठशाला सञ्चालनसँगै बजार प्रवद्र्धन, सङ्कलन केन्द्र स्थापना, हाटबजारसमेत सञ्चालन गरिने छ।”
“कृषिबाट स्थानीयवासीको जीवनस्तर उकास्न यो कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने, “युवालाई कृषि क्षेत्रमा आकर्षित गर्नसमेत कार्यक्रम उपयोगी हुनेछ।” कृषि प्रसार अधिकृत धामीले कार्यक्रमको मुख्य उद्देश्य कृषिलाई व्यावसायिक बनाउनु नै हो भन्दै कार्यक्रमअन्तर्गत किसानलाई बजारीकरणमा पनि सहयोग गरिने योजना रहेको बताए।
उनले सुरुमा किसानलाई मल, बीउ र अन्य कृषिजन्य सामग्री अनुदानमा उपलव्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिए। “जुन ठाउँमा जे बालीको राम्रो उत्पादन हुन्छ, त्यही आधारमा कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने, “तरकारी, केरा र च्याउखेतीमा किसानलाई प्याकेजमै सहयोग उपलब्ध गराएको छ।”
स्थानीयवासीलाई गाउँमै रोजगारी दिन यो कार्यक्रम लागू गरिएको नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले बताए। उनले भने, “किसानले उत्पादन गरेका कृषि उत्पादनलाई भण्डारण गर्नका लागि शीतभण्डार निर्माणका लागि कार्य अगाडि बढाइएको छ।
शीतभण्डारका लागि डिपिआर निर्माणको कार्य पूरा गरिएको छ।” “कृषि उत्पादनमार्फत उनीहरूलाई रोजगारीमा जोड्न खोजेका हौं”, उनले भने, “यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएपछि काम खोज्दै भारतका विभिन्न ठाउँमा जाने युवाहरूको बाध्यताको अन्त्य हुने हाम्रो अपेक्षा छ।’
केरा उत्पादनमा लागेका किसानलाई सहयोग पु¥याउन केरा पकाउने ¥यापिङ च्याम्बरसमेत स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताए। नगरपालिकाले प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने किसानलाई रु तीन लाख अनुदान उपलब्ध गराएको छ। किसानलाई व्यावसायिक बनाई विपन्नबाट आर्थिकरुपमा सम्पन्न बनाउनका लागि कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने उनको भनाइ छ। प्राङ्गारिक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने छ।
मेयरसँग कृषि कार्यक्रम
कृष्णपुर नगरपालिकाले ‘मेयरसँग कृषि’ कार्यक्रमसमेत सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत प्रत्येक वडामा दुई वटाका दरले नमूना तरकारी पकेट क्षेत्र स्थापना गरिएका छन्। पटके क्षेत्र स्थापनासँगै कृषिउपजको बजारीकरण गर्नका लागि अध्ययनको कार्यसमेत अगाडि बढाइएको छ। कार्यक्रम सञ्चलनका लागि चालू आवमा रु तीन लाख बजेट परिचालन गरिएको छ।
चालू आवमा किसानलाई ५० प्रतिशत अनुदानमा १० लाख मूल्य बराबरको उन्नत जातको गहुँको बीउ नगरपालिकाले वितरण गरेको छ। माटो सुहाउँदो बाली लगाउनका लागि घुम्ती माटो शिविरको आयोजना गरी माटोका एक हजार २०० नमूना चेकजाँच गरी माटोअनुसारको बाली लगाउन सिफारिससमेत गरिएको छ। कृष्णपुर तरकारी खेती र केराखेतीका लागि जिल्लामै अग्रणी रहेको बताइएको छ। रासस