सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पर्यटकीय स्थलबारे प्रदेश सरकारकै पुस्तकमा गलत जानकारी

२०७६ पुष ८, ०८:०९ कमल सावद

धनगढी- सुदूरपश्चिम सरकारले भ्रमण वर्ष २०२० नजिकिदै गर्दा पर्यटकीय गन्तव्यबारे प्रकाशन गरेको पुस्तकमा त्रुटी नै त्रुटी गरेको पाईएको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नाटा सुदूरपश्चिम मार्फत व्यूटिफुल सुदूरपश्चिम नेपाल, कफी टेबल बुक नाम दिएर प्रकाशन गरेको पुस्तक त्रुटीपूर्ण रहेको भेटिएको हो।

 

पर्यटनको क्षेत्रमा काम गर्दै आएको नाटा सुदूरपश्चिमको सहकार्यमा तयार गरिएको उक्त पुस्तकमा प्रदेशका मुख्य पर्यटकीय स्थलबारे जै गलत जानकारी राखिएको छ। बैतडीको सुर्नया गाउँपालिकामा पर्ने पताल भुमेश्वर गुफालाई गोठालापानीमा पर्छ भनी उल्लेख गरिएको छ। गुफाको तस्बिर नभई तालको राखिएको छ। तर पर्यटन मन्त्री माया भट्ट र पुस्तक प्रकाशन गर्ने नाटाका अध्यक्ष मायाप्रकाश भट्ट बैतडीकै हुन्। टेबल बुकमा गुफाको बारे पूर्ण जानकारी पनि समेटिएको छैन्।

 

अहिले आएर नाटा सुदूरपश्चिमले पुस्तक प्रकाशनमा आफनो कुनै भुमिका नरहेको दावी गर्दै आएको छ। नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टले पुस्तक प्रकाशनमा कुनै भूमिका नरहेको प्रतित्रिया दिए। उनले भने, ‘सहयोगका लागि गत साउनमा पर्यटन मन्त्रालयले आग्रह गरेको थियो। पुरानो किताबबाट राख्न भनेको थियौँ, हामीले पनि शुभकामना दिएका थियाँै। तर छापिएको छैन्। प्रमाण हेरेर राखिएको भए, राम्रो हुने।’ तर भट्टको संस्थाले पुस्तक प्रकाशन गरे वापत पर्यटन मन्त्रालयबाट झण्डै एक लाख ७५ हजार भुक्तानी पाएको छ।

 

अंग्रेजी भाषामा प्रकाशन गरिएको पुस्तकमा पर्यटकीय स्थलको नाम र त्यहाँ पुग्न सकिने विषयमा पनि प्रष्ट उल्लेख गरिएको छ्रैन्। धनगढीकै जाखोर ताललाई जाकोरेताल बनाईएको छ। अंग्रेजी भाषाको व्याकरणमा गरेको त्रुटीका कारण पनि पर्यटक अलमलमा पर्ने देखिएको छ।

वेदकोट तालको फोटोलाई डडेल्धुराको आलितालसंगै देखाईएको छ। तालसंगै अन्य पर्यटकीय क्षेत्रको बारेमा लेखिएको जानकारी पनि पूर्ण छैनन्। बैतडीको निङ्गलासैनी मन्दिरको जानकारी लेखिएको ठाउँमा डेल्धुराको उग्रतारा मन्दिरको तस्वीर पनि प्रयोग भएको छ।

चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवरलाई पुस्तकमा सुदूरपश्चिममा नजिक पर्ने भनेर उल्लेख छ। तर कैलाश मानसरोवर सुदूरपश्चिम हुदै जान सकिन्छ, त्यसको जानकारी उक्त पुस्तकमा छैन्। मन्त्रालयले प्रकाशन गरेको पुस्तकले पर्यटकलाई झनै अन्यौल पर्ने देखिएको छ।

पुस्तकमा भएको त्रुटीका बारेमा आफू जानकारी नभएको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री भट्टको प्रतिक्रिया छ। उनले त्रुटीलाई सच्याउँलै पुनः पुस्तक प्रकाशन गर्न लगाउने बताईन्। मन्त्री भट्टले भनिन्, ‘गत आर्थिक वर्ष एक संस्थाले प्रकाशन गरेको रहेछ। मैले हेरेको छैन्। मन्त्रालयको सहयोग मात्र हो। नयाँ किताब प्रकाशन गर्न लगाउछु।’

पुस्तकमा सुदूरपश्चिमका होटल तथा रेष्टुरेन्टका बारेमा पनि जानकारी दिन खोजिएको छ। तर त्यो पनि पूर्ण छैनन्। धनगढीका केही होटललाई समेटिएको भएपनि पहाडी जिल्लाका नाम चलेका होटलहरु पुस्तकमा समेटिएका छैनन्। पुस्तकमा प्रयोग भएका होटलहरुको तस्वीर पनि स्तरीय छैन्।

 

 

सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृतीलाई झल्काउने तस्बिर पनि पुस्तकमा राखिएका छन्। तर संस्कृतीको वर्णन भने गरिएको छैन्। थारु, छलिया, भूँवा नृत्यका तस्बिर भने राखिएका छन्। शँुक्लफाटा राष्ट्रिय निकुञ्जलाई नेसनल रिजर्भ लेखिएको छ।

 

पुस्तकको अन्तिममा टुर एण्ड ट्राभल्सको नाम र सूची छ। तर त्यो सूचिमा बन्द भएका टुर एण्ड ट्राभल्सको नाम राखिएको आरोप छ। पुस्तकमा दिइएका केही फोन नम्बर गलत छन्। उसै पनि प्रचार प्रसारको कमीका कारण ओझेलमा परेका पर्यटकीय क्षेत्रको बारेमा प्रदेश सरकारले नै झुठो सूचना सहितको पुस्तक प्रकाशन गरेपछि भ्रमण वर्ष २०२० मा आउने पर्यटक अन्यौलमा पर्ने देखिएको छ। प्रदेश सरकारले हचुवाको भरमा पुस्तक प्रकाशन गरी पर्यटकलाई झुक्याउन खोजेको आरोप पनि लागेको छ।

 

यस्तै प्रदेशको पर्यटन क्षेत्रको विकासमा गम्भीर नबेको तर्क गरिन थालेको छ। डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले पर्यटकलाई सूचना दिन प्रकाशन गरिने पुस्तकमा त्रुटी हुनु ठुलो कमजोरी भएको बताए। उनले पुस्तकमा पर्यटकीय क्षेत्रको पूर्ण विवरण र नक्सा पनि समावेश गर्नुपर्ने बताए। ‘पर्यटकीय क्षेत्रको जानकारी नभएर पर्यटक अन्यौलमा परेका हुन्छन्। दुरी, पर्यटकीय क्षेत्रको अवस्था र नक्सा पनि हुन आवश्यक छ। उनले भने, ‘पर्यटकहरु नक्साका आधारमा यात्रा गर्ने गर्दछन्।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस