सुदूर नेपाललाई विश्वसँग जोड्दै

सकियो सुदूरपश्चिम महोत्सव, महोत्सव अवधिभर ८० लाख बराबरको टिकट बिक्रि

२०७६ पुष ६, ०६:१९ खबर संवाददाता

धनगढी: धनगढीमा जारी १४औँ संस्करणको सुदूरपश्चिम महोत्सव आज १५ दिनपछि सम्पन्न भएको छ। मंसिर २२ गतेदेखि समृद्ध सुदूरपश्चिमका लागि आर्थिक सम्वृद्धि भन्ने नाराका साथ सुरु भएको महोत्सवको आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ। 

समापन कार्यक्रममा महोत्सवको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सभापती रहेका थिए भने प्रमुख अथिती धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड रहेका थिए।  

समापन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले आर्थिक सम्वृद्धिको बाटोमा उद्योग वाणिज्य संघसंग सहकार्य गर्न आफु तयार रहेको बताए।  स्थानीय, प्रदेश र संघीय सरकारलाई पनि खबरदारी गर्न निजी क्षेत्र कैलाली उद्योग वाणिज्य संघले अग्रसर हुनुपर्ने उनको जोड थियो। 

समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाइ सम्मान गरिएको छ। २०६३ साल देखि सुरु भएको महोत्सव १४औँ संस्करणसम्म आईपुग्दा आयोजकले लाखौँ रकम समेत बचत गर्न सफल भईरहेको छ। आइतबार सम्पन्न भएको १४औँ संस्करणको महोत्सवमा टिकट मात्रै ८० लाख बराबरको बिक्रि भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। 

महोत्सवको औपचारिक समापन आईतवार भएपनि अन्य विवरण अबको केही दिनपछि मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ। यो वर्ष महोत्सवमा चार सय व्यापारिक स्टल रहेका थिए। जसबाट ६४ लाख ६९ हजार आम्दानी हुने देखिएको छ भने आयोजकलाई यस वर्ष रमाईलो मेलाबाट १९ लाख प्राप्त हुने दावी गरिएको छ। गतवर्ष रमाईलो मेलाबाट २२ लाख आम्दानी भएको थियो। 

त्यस्तै प्रायोजकहरुबाट २० लाख र पार्कीङबाट २५ हजार संकलन हुने उद्योग वाणिज्य संघले जनाएको छ। आम्दानीका जम्मा स्रोतलाई हेर्दा टिकट बाहेक सुदूरपश्चिम महोत्सवबाट आयोजक कैलाली उद्योग वाणिज्य संघले एक करोड ४ लाख आम्दानी गर्ने देखिएको छ। महोत्सवमा मुख्य प्रवद्र्धक तथा प्रवद्धकका रुपमा रहेका विभिन्न मन्त्रालय, पर्यटन वोर्ड, कैलालीका स्थानीय तह र विभिन्न संघ–संस्थाहरुले आर्थिक सहयोग गरेका थिए।  

कमेन्ट लोड गर्नुस