कैलालीका स्थानीय सरकारले निर्माण गर्ने कालोपत्रे सडकको आयु बढीमा तीन वर्ष
धनगढी– मसुरिया–तालबन्द–खनिया ताल सडक कालोपत्रे गरिएको एक महिनामा भत्किएपछि टालेको कैलालीको गौरीगंगा नगरपालिकाले १५ सेन्टीमिटरको सवबेस, १० सेन्टीमिटरको बेस र प्रिमिक्स दुई सेन्टीमिटरको मात्र निर्माण गर्दै आएको छ।
नगर क्षेत्र भित्र निर्माण हुने सबै सडकहरुको स्टमेट यस्तै छ। निर्माण कम्पनीहरुलाई दुई सेन्टीमिटरको मात्र कालोपत्रे अर्थात प्रिमिक्स गर्न अधिकार दिएपछि कमजोर सडक निर्माण भइरहेका छन्। गौरीगंगा नगरपालिकाका ईन्जिनियर दिनेश खड्काले भने–‘धनगढी उप–महानगरपालिका सहित कैलालीका अन्य स्थानीय तहले पनि दुई सेन्टीमिटरको कालोपत्रे गर्दै आएका छन्। सोही अनुसार गौरीगंगा नगरपालिका क्षेत्रमा पनि दुई सेन्टीमिटरको प्रिमिक्स (कालोपत्रे) निर्माण सम्झौता गर्ने गरेका छौ।’ उनका अनुसार निर्माण भएका सडकको एक वर्षको मर्मत समय अवधि हुन्छ।
एक वर्ष भित्र भत्किए निर्माण कम्पनीहरुले नै मर्मत गर्नु पर्छ। गौरीगंगा नगरपालिका मात्र नभएर कैलालीका अन्य स्थानीय तहहरुको कालोपत्रे सडक निर्माणको अवस्था पनि यस्तै छ। घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिका क्षेत्रमा सडकहरु दुई सेन्टीमिटरका मात्र कालोपत्रे गर्ने गरिएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि भएपनि दिर्घकालिन सडक निर्माणमा प्राथामिकता दिएको पाइएको छैन्।
कैलालीको गोदावरी नगरपालिकाले तीन सेन्टीमिटरको प्रिमिक्स (कालोपत्रे) गर्दै आएपनि धेरै सडक दुई सेन्टीमिटरका निर्माण भएको नगरपालिकाका ईन्जिनियर जानकी बडैलाले बताईन्। उनले भनीन– ‘अन्य स्थानीय तह जस्तै सडकको सव–बेस, बेस एउटै छ। तर प्रिमिक्स तीन सेन्टीमिटरको छ। केही सडकहरुमा दुई सेन्टीमिटरको पनि प्रिमिक्स गरेका छौ।’ गुणस्तरमा ध्यान नदिदा पाँच वर्षका लागि निर्वाचित भएका जनप्रतिनिधिले निर्माण गरेका सडक पनि उनीहरुको समय नसकिदै भताभुंग हुन थालेका छन्।
धनगढी उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टका अनुसार दुई सेन्टीमिटरका सडकको आयु बढीमा तीन वर्षको मात्र हुन्छ। डिभिजन ईन्जिनियर भट्टले भने– ‘कालोपत्रे गरिएका सडक कति समयसम्म टिक्ने कुनै निश्चित हुदैन्। तर दुई सेन्टीमिटरको प्रिमिक्स गरिएका सडक तीन वर्ष टिक्नुपर्छ भन्ने छ। पानी जमेमा, गाई–गोरुले दिसापिसाव गरेमा पनि सडक भत्किने हुन्छ।’