सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिकलसेल बारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

२०७६ पुष २, ०७:३२ खबर संवाददाता

धनगढी– सिकलसेल एनिमियाका बारेमा धनगढी उप–महानगरपालिकाले आफ्ना स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमूखिकरण गरेको छ। धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाले सबै स्वास्थ्यकर्मीहरुलाई यस रोगका बारेमा जानकारी दिन अभिमूखीकरण थालेको हो। स्वास्थ्यकर्मीको समायोजनका क्रममा उक्त उप–महानगरमा सरुवा भएर आएकाहरुका लागि अभिमूखीकरण बढी महत्वपूर्ण रहेको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन्। 

अभिमूखीकरण मंगलबार र बुधवार गरि दुईचरणमा भईरहेको छ। पश्चिम नेपालका थारू समुदायमा समस्याको रुपमा देखिएकाले अन्यत्रबाट सरुवा भएर आएका स्वास्थ्यकर्मीले यस रोगको बारेमा जानकारी राख्नैपर्ने हुन्छ उप–प्रमुख भट्टले भनिन्, रोगको बारेमा जानकारी राखेपछि सेवा दिन सजिलो हुने छ। आर्थिक बर्ष २०७५÷०७६ मा आफुहरुले दुईवटा स्थानमा शिविर राखेर सिकलसेलको निशुल्क परिक्षणको ब्यबस्था गरेको बताउदै उप–प्रमुख भट्टले चालु आर्थिक बर्षमा पनि चेकजाँच, परामर्श र उपचारका कार्यक्रम राखेका बताईन्। 

धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रशाद कोईरालाले स्वास्थ्यकर्मीहरुको ब्यबवाहारले आधारोग निको हुने बताए। हाल सेती अस्पतालमा सिकलसेलका १ सय ७३ बिरामी नियमित उपचार गराइरहेका छन्। नेपाल सरकारले सिकलसेल एनिमिया रोग लागेको पुष्टि भएका विपन्न परिवारका बिरामीहरुको स्वास्थ्य परीक्षण र औषधी उपचारका लागि १ लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको छ। 

चिकित्सकका अनुसार यो रोगले ३–४ वर्षका बालबालिकाको समेत ज्यान जाने गरेको छ। युवामा पनि पटक–पटक जन्डिस हुने,जोर्नी र हड्डी दुख्ने, पेट दुख्ने, छाती दुख्ने, रक्तअल्पता हुने, थकावट महसुस हुने, ज्वरो आउने, फियो सुन्निने लक्षण देखा पर्छन्। बढी जाडो, गर्मी या तनावमा भएका बेला यस्तो लक्षण देखापर्छ।

कमेन्ट लोड गर्नुस