धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पसले एकलौटी शुल्क बृद्धि गरेको आरोप
कैलालीको ऐश्वर्या बहुुमुखी क्याम्पसले एकलौटी रुपमा शैक्षिक शुल्क बृद्धि गरेको भन्दै फिर्ता लिन माग गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, ऐश्वर्या बहुमुखी क्याम्पस कमिटिले अवैज्ञानिक तरिकाले बृद्धि गरेको शुल्क फिर्ता लिन माग गरेको छ।
अनेरास्ववीयुले आज क्याम्पस प्रशासनलाई विज्ञप्ती बुझाउदै साविकको शुल्कमा २० प्रतिशत थप गर्दै बृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन माग गरेको छ। बृद्धि गरिएको शुल्कले निम्न आय स्रोत भएका वर्गका विद्यार्थी मारमा परेको भन्दै शुल्क फिर्ता गर्न माग गरिएको छ।
अनेरास्ववीयु क्रान्तिकारीका संयोजक बलबहादुर ओली र उपसंयोजक ह्रदय सापकोटाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा ४८ घण्टा भित्र माग सुनवाई नभए अन्य कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ। अनेरास्वीयुले क्याम्पस प्रशासन र सञ्चालक समितिले एकलौटी रुपमा शुल्क बृद्धि गरेको आरोप लगाएको छ।