सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्याजको मूल्य किलोको दुई सय, हाट बजारमा पनि पाउँनै छोड्यो

२०७६ मंसिर २९, ११:४६ भुवन भट्ट

भारतबाट प्याजको आयात रोकिएसंगै कैलालीका बजारमा मूल्य आकासिएर प्रतिकिलो दुई सय पुगेको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको अभाव भएपछि मूल्य पनि आकासिएको हो। प्याजको मूल्य बढेपछि  महंगो भएको भन्दै अहिले प्याजको उपभोग समेत ह्वातै घटेको छ।

धनगढीमा अध्ययन गर्दे आईरहेकी बैतडीकी सरीता जाग्रीले मूल्य बढेपछि प्याज उपभोग गर्न छोडिसकेको बताईन्। उनका अनुसार अहिले तरकारी पसलहरुमा समेत प्याज पाउनै मुस्किल भएको छ। धनगढी स्थीत त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिले पनी प्याज बिक्रिमा नराखेको जनाएको छ।

भएका ठाउमा प्रतिकिलो २ सय बढीका दरले प्याजको कारोबार भईरहेको समितिले जनाएको छ। त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानसिङ चैसिरले भारतबाट आयात ठप्प भएपछि हाटबजारमा समेत प्याज नराखिएको बताए। उनले बजारमा प्याजको माग समेत घटेको दिनेश खवरलाई जानकारी दिए।

भारतबाट निर्यातमा प्रतिबन्ध लगाईएपछि यस पटक भने प्याज आयात नै नभएको कैलाली भन्सार कार्यालयले जनाएको छ। पहिले दैनिक २–३ ट्रकमा प्याज आयात हुने गरे पनि अहिले प्याजको आयात पूर्ण रुपमा ठप्प भएको  भन्सार कार्यालय कैलालीका प्रमुख ईश्वरी अर्यालले बताए। प्याजको मूल्य आकाशिएपछि प्रदेश सरकार पनि प्रयोगमा नल्याउन सुझाव दिन थालेको छ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्याज दैनिक जिवनमा अपरीहार्य नभएकाले प्रयोगमा ल्याईहाल्नुपर्ने जरुरी नभएको बताएको हो। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले प्याज नभई नहुने परीकार नभएकाले उपभोग घटाउन आग्रह गरे।

उनले आगामी आर्थिक वर्षमा किसानहरुलाई प्याज खेतीका लागि प्रोत्साहन गरीने जानकारी दिए। यद्यपी यस वर्ष भने किसानहरुलाई प्याज खेतिमा कुनै अनुदान नदिईएको उनले स्विकारे।

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस