बजुरामा गाउंपालिकाका अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार
जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्दछ। बाजुराको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाहीले गरेका मानवीय सेवा अन्यका लागि नमूना बनेको छ। अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ६ महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाएकाे छ। उनी आफैँ ती बालबालिकालाई लिएर एसओएस बालग्राम धनगढीमा पुग्नुभएको सामाजिक अभियन्ता प्रकाश सिंहले बताए।
“बालबालिकाको पालनपोषण र शिक्षादिक्षाको एसओएसले जिम्मा लिने भनेपछि मात्र आफूले बालबालिका लिएर गएको हुँ”, अध्यक्ष शाहीले भने। बालग्राम धनगढीका प्रमुख पदम हमालले पालनपोषण र शिक्षालगायत सम्पूर्णको जिम्मा लिने बताए।बालग्राममा पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह, स्वामीकार्तिक गाउँपालिका सूचना अधिकारी कुवेर शाही, नागरिक समाजका अध्यक्ष जनेश भण्डारीको सहभागिता थियो। ती दुवै बालबालिका कुपोषित रहेका छन्। बालबालिकाका आमा बच्ची लुवारको गत साउनमा अकस्मात मृत्यु भएको थियो। ५१ वर्षीयँ हजुरआमा सुकी लुवारको भरमा नाबालक बालबालिका रहेका थिए। रासस